लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिने नेपाल लाइफ इन्स्योरेन्सको घोषणा, चुक्ता पूँजी ७ अर्ब १९ करोड



काठमाडौं । कोरोना कहरमा पनि नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई बम्पर उपहारको घोषणा गरेको छ । कम्पनीको ३११औं सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश छ ।

सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको कम्पनीले बीमितलाई पनि राम्रो प्रतिफल दिँदै आएको छ ।

नेपाल लाइफको सञ्चालक समितिले गरेको उक्त निर्णय नियामक निकाय बीमा समिति र कम्पनीको आगामी हुने साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ । कम्पनीको रिजर्भ ३ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ छ ।

यस्तो छ नेपाल लाइफको लाभांश इतिहास

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद गरी कूल ४८.५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २८.५३ प्रतिशत बोनस र ४२ प्रतिशत नगद गरी कूल ७०.५३ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ र २०७१/७२ मा २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी, २०७०/७१ मा ६० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद गरी कूल ६८ लाभांस दिएको थियो ।

त्यस्तै, २०६९/७० मा ७० प्रतिशत बोनस र २८ प्रतिशत नगद गरी कूल ९८ प्रतिशत लाभांस दिएको थियो भने २०६८/६९ मा ७० प्रतिशत बोनस र ५६.३१ प्रतिशत नगद गरी कूल १२६ प्रतिशत लाभांस दिएको थियो । २०६७/६८ मा जम्मा ७.३७ प्रतिशत नगद लाभांस मात्रै दिएको थियो ।

 


पुष्प दुलाल