राजनीतिक अस्थिरताले पैठारी संघ चिन्तीत, आर्थिक मुद्दा ओझेलमा पर्ने आशंका
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबाट नेपाल समुद्रपार निकासी पैठारी संघ चिन्तित भएको जनाएको छ ।
संघले संघीय संसद विघटन र मध्यावधि निर्वाचनको घोषणाबाट मुलुकमा राजनीतिक अस्थिरता बढ्ने र आर्थिक मुद्दा ओझेलमा पर्न सक्ने तर्फ संकेत गरेको छ । यसले मुलुकको व्यावसायिक वृत्तलाई गम्भीर रुपमा चिन्तित बनाएको जारी विज्ञप्तिमा छ ।
राजनीतिक अस्थिरताले तल्लो तहका नागरिक मात्र नभई मध्यम आय स्तर भएका नागरिकमा समेत नकरात्मक असर पर्न जान सक्ने प्रति संघको ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबाट त्यो जनचाहनामा तुषारापात भएको छ । समृद्धिको सपना नारामै सीमित हुने आशंका बढेको जनाएको छ ।
यतिखेर कोरोना भाइरसको महामारीबाट आक्रान्त जनसाधारण र अर्थतन्त्रलाई उकास्नेतर्फ सिंगो मुलुकको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले समयमा नै यसमा ध्यान दिन नसकेमा जनसाधारणमा असन्तुष्टि बढ्न गई भयावह स्थिति आउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।
यो गम्भीर वास्तविकतालाई ध्यानमा राख्दै सुझबुझ पूर्ण तरिकाले अघि बढ्न तथा आर्थिक मुद्दालाई राजनीतिक दाउपेचको सिकार हुन नदिन सरोकारवाला सबैमा संघले अपिल गरेको छ ।