स्रोत व्यवस्थापनको समस्या छैन, कोरोनाको खोप सबैले निशुल्क पाउँछन्ः अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् ।

विश्व बजारमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा आयात गर्न र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापनका लागि अर्थमन्त्रालय लागीपरेको उनले बताए ।

‘हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं, कोरोनाको भ्याक्सिन ल्याउन त्यसका लागि आवश्यक स्रोत व्यवस्थपन र वितरणका लागि सरकार लागीपरेको छ,’ शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँग भेटघाटमा उनले भने ।

उनले खोप आयात गर्दा तुलनात्मक रुपमा सस्तो दरमा भ्याक्सिन आयात गर्ने र प्राथमिकताका आधारमा वितरण गरिने समेत जानकारी दिए ।

उनले सस्तो, गुणस्तरीय र स्वास्थ्यको मापदण्ड पूरा गरेर मात्रै आयात गरिने भन्दै भ्याक्सिन आयात कुटनीति निकायहरुसँग कुरा भइरहेको दावी समेत गरे ।

नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनका लागि कोभिड विरुद्ध लड्ने त्यसका लागि खोप आवश्यक रहेको उनको भनाइ छ । उनले उत्पादन र रोजगारी बढाएर आर्थिक जीवनलाई पुरानै लयमा फर्काउनका लागि पनि खोप आवश्यक भएको बताए ।


क्लिकमान्डु