मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खान पल्केका बीमा कम्पनीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेनन्



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई लगानीको लागि क्षेत्र नै निर्धारण गरे पनि यतिबेला कम्पनीहरु तोकेको ठाँउमा लगानी गर्नुभन्दा पनि मुद्दति निक्षेपमा पैसा राखे ब्याज खान पल्केका छन् ।

बीमा समिमितिले निर्देशिका नै बनाएर पुँजी बजार, ऋणपत्र तथा कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्नु भनेको थियो । कम्पनीहरुले समितिको निर्देशिकालाई बेवास्ता गर्दै लगानी नगरी मुद्दतिमा पैसा राखेर ब्याज खाइरहेका छन् ।

चालु आवको पहिलो तीन महिनामा सञ्चालनमा रहेको जीवन बीमा कम्पनीहरुले ३ खर्ब ५ अर्ब ४६ करोड २८ लाख २४ हजार रुपैयाँ लगानी गरेका छन् ।

उक्त लगानीमध्ये १९ वटा जीवन बीमा कम्पनीले २ खर्ब २३ अर्ब ७५ करोड ३ लाख ५ हजार रुपैयाँ वाणिज्य बैंकका मुद्दति निक्षेपमा लगानी गरेका छन् ।

वाणिज्य बैंकको मुद्दति निक्षेपमा सबैभन्दा बढी पैसा राखेर ब्याज खाने बीमा कम्पनीमा पहिलो नेपाल लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले ६४ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दति खातामा राखेर ब्याज खाइरहेको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४९ अर्ब १ करोड ८३ लाख रुपैयाँ निक्षेपमा राखेको छ । यता मेट लाइफले १८ अर्ब ९१ करोड १९ लाख ९० हजार रुपैयाँ, नेशनल लाइफको २५ अर्ब २७ करोड ४६ लाख, राष्ट्रिय बीमा संस्थानको १५ अर्ब १२ करोड ४० लाख ९७ हजार रुपैयाँ मुद्दति निक्षेपमा राखेर ब्याज खाइरहेका छन् ।

एशियन लाइफले १० अर्ब ६१ करोड ९० लाख, प्राइम लाइफले १० अर्ब ६ करोड ९७ लाख ८७ हजार, सुर्य लाइफले ५ अर्ब ६८ करोड ३२ लाख, गुँरास लाइफले ६ अर्ब १६ करोड ८७ लाख, आईएमई लाइफ १ अर्ब ६७ करोड ६५ लाख, यूनियन लाइफले ३ अर्ब ३० करोड ३४ लाख ९१ हजार, ज्योती लाइफले २ अर्ब ७ करोड ९० लाख, सन नेपाल लाइफले १ अर्ब ३६ करोड रुपैयाँ मुद्दति निक्षेपमा राखेर ब्याज खाइरहेका छन् ।

त्यसैगरी रिलायन्स लाइफले २ अर्ब २८ करोड ४१ लाख ९० हजार, रिलायबल नेपाल लाइफ १ अर्ब ८६ करोड ९६ लाख, सिटिजन लाइफले १ अर्ब ८६ करोड ५० लाख, सानिमा लाइफले १ अर्ब ३४ करोड ७२ लाख ५० हजार, प्रभु लाइफले १ अर्ब २ करोड ७० लाख रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ५४ करोड ४८ लाख रुपैयाँ बैंकको मुद्दति निक्षेपमा राखेर ब्याज खाइरहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बीमा समितिले तोकेको क्षेत्रमा लगानी बढाउनु भन्दा पनि मुद्दति निक्षेपमा राखेर ब्याज खान पल्केका देखिएको छ । बीमा समितिले बीमकको लगानी निर्देशिका-२०७५ मा कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा लगानी गर्न भनेको थियो । त्यसको लागि समितिले लगानीको सिमा र शर्त समेत तोकेको थियो ।

तर १९ मध्ये १७ वटा जीवन बीमा कम्पनीले समितिको निर्देशिकाको अवज्ञा गरेको देखिएको छ ।

समितिको लगानी निर्देशिकामा लगानीको लागि आह्वान गरिएको कूल रकमको दश प्रतिशतभन्दा बढी रकम लगानी एउटै परियोजनामा लगानी गर्न नपाइने, साथै लगानी गरिने कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने जनाएको थियो ।

तर चालु आवको पहिलो तीन महिनामा जम्मा २ वटा जीवन बीमा कम्पनीले २ अर्ब १ करोड ८५ लाख ८० हजार रुपैयाँ मात्रै लगानी गरेका छन् ।

जसमा नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८६ करोड १६ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ भने प्राइम लाइफ इन्स्योरेन्सले १५ करोड ६९ लाख ४० हजार रुपैयाँ मात्रै लगानी गरेको छ । अन्य जीवन बीमा कम्पनीले कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा यो तीन महिनामा लगानी गरेका छैनन् ।


पुष्प दुलाल