महासंघको लक्ष्य दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नु होः अध्यक्ष शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको लक्ष्य दोहोरो अंकको आर्थिक वृद्धि गर्नु रहेको बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास संघले महासंघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचित पदाधिकारी तथा सदस्यहरुको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी जनाउँदै सो बताएका हुन् ।

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले महासंघ सबैको विश्वासको आशाको केन्द्रको रुपमा रहेकोे र चुनावपछि महासंघको एउटै आवाज रहेको बताए । महासंघले सकारात्मक परिणाम देखाउन सक्यौं भने मात्र यो स्वागत र सम्मानको सार्थकता रहन जाने उनको भनाइ छ ।

उनले अब प्राथमिकता तोकेर कार्य सम्पन्न गर्ने परिपाटी बसालिनु पर्ने भन्दै महासंघमा आबद्ध सबै संघसंस्थाको करिब ९० प्रतिशत विषयहरूमा एकरुपता कायम गर्न सकिने बताए । साथै, सो लक्ष्य हासिल गर्न एकजुट भई कार्यगत एकता गर्नुपर्ने आवश्यकता रहेको उनले धारणा व्यक्त गरे ।

त्यसैगरी, महासंघका नवनिर्वाचित वरीष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनपछि सबै व्यवसायीहरु एकै ठाउँमा उभिएको बताए ।

‘हाम्रो प्राथमिकता भनेको ओझेलमा परेका व्यवसायिक क्षेत्रलाई उकास्नका लागि सकृय रुपमा पहल गर्नु हो,’ उनले भने, ‘महासंघमा आबद्ध व्यवसायीहरुले नाफा आर्जन गर्ने मात्र नभई मुलुकको राजस्व वृद्धि तथा पूर्वाधारको विकासमा समेत योगदान पुर्याउने भएकाले निजी क्षेत्रलाई सरकारले साझेदारको रुपमा हेर्नु पर्दछ ।’

त्यस्तै, महासंघमा वस्तुगततर्फको नवनिर्वाचित उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने बताए । उनले देशको नीति नियमलाई लगानीयोग्य तथा व्यापारमैत्री बनाउने, रियलस्टेट क्षेत्रका व्यवसायीहरुको सरोकारका विषयहरुलाई सम्बोधन गर्न महासंघबाट सक्दो पहल हुने जानकारी दिए ।

साथै, भवन संहितामा समयसापेक्ष संशोधन गरी शहर निर्माण तथा सुधारको कार्यमा हाउजिङ्ग क्षेत्रलाई सहभागी गराउनुपर्ने जनाए । त्यस्तै, देश संघीयतामा गएको वर्तमान परिप्रेक्ष्यमा दोहोरो कर नलाग्ने व्यवस्था गरी व्यापारिक कारोबारको लागत बढ्न दिन नहुने भन्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठले संघहरुले समूह—समूहको निर्माण गरी कार्य योजना बनाएर कार्य गर्नुपर्ने बताए ।

उनका अनुसार भवन संहितामा सेटब्याक लगायतका विषयमा संशोधन गर्नुपर्ने र देशमा व्यवस्थित बसोबासलाई सहयोग पुर्याउँदै आएको संस्थागत रियलस्टेट क्षेत्रलाई प्रोत्साहित गर्नु आवश्यक भएको छ ।

साथै, संयुक्त आवासको सामुहिक उपयोगको क्षेत्रको स्वामित्व ईकाइ धनीहरुलाई नै हस्तान्तरण गर्न पहल गरिदिनुपर्ने सुझाए । त्यस्तै, संघमा आबद्ध सबै व्यवसायीहरु महासंघसँग सहयात्रा, सहयोग र सहकार्य गर्न सदा तत्पर एवं प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

संघका महासचिव भेषराज लोहनीले नेपालमा व्यवस्थित बसोबासलाई प्रबद्र्धन गर्नका लागि ल्याण्ड पुलिङ्ग आयोजनाहरुमा मान्यता प्राप्त रियल इस्टेट कम्पनीहरुलाई सहभागी गराउनुपर्ने भनाइ राखे ।

साथै, ब्रोकर लाइसेन्सिङ्ग प्रणाली लागू गर्नुपर्ने र बैंकहरुले मान्यता प्राप्त रियल स्टेट कम्पनीहरुलाई कर्जा लगानी गर्दा कर्जा र धितोको मूल्यबीचको अनुपात विद्यमान ४० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउन नेपाल राष्ट्र बैंकमा पहल गर्नुपर्ने बताए ।


क्लिकमान्डु