सरकारलाई साढे ९० अर्ब वैदेशिक सहायता, अनुदान १४.२, ऋण ८५.५ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा सरकारलाई ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायताको लागि प्रतिबद्धता पाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासमा १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता आएकोमा चालु आवको सोही अवधिमा यो रकम बढेर ९० अर्ब ५४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

सरकारलाई प्राप्त अन्तराष्ट्रिय विकास सहायता प्रतिबद्धतामध्ये १२ अर्ब ८३ करोड ५ लाख अनुदान सहायता रहेको छ भने ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण सहायता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

कात्तिकसम्ममा वैदेशिक सहायता प्रतिबद्धता मध्ये अनुदान १४.२ प्रतिशत र ऋण सहायता ८५.५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा अनुदान ७८.८ प्रतिशत र ऋण सहायता २१.२ प्रतिशत रहेको थियो ।

मन्त्रालयका अनुसार सडक तथा सुशासन क्षेत्र (रणनैतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजना) अन्तर्गत सबैभन्दा बढी ५५ अर्ब रुपैयाँको ऋण सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

त्यस्तै उर्जा क्षेत्र विकासको लागि ऋण तथा अनुदान गरी २७ अर्ब ८७ करोड रुपैयाँ, स्वास्थ्य तथा कोरोनाको सहायताको लागि अनुदान तर्फ ४ अर्ब ७३ करोड रुपैयाँ, वन तथा वातावरण क्षेत्रको लागि अनुदान तर्फ १ अर्ब ७५ करोड सहायता प्राप्त भएको छ ।

यस्तै शिक्षा क्षेत्र सुधार (विद्यालय क्षेत्र विकास कार्यक्रम)को लागि अनुदान तर्फ १ अर्ब ६१ करोड र भूकम्प पछिको पुनर्निर्माणको लागि ६० करोड बराबरको वैदेशिक अनुदान सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु