चिनी उद्योगीले किसानको पैसा नदिए उद्योग मन्त्रालयले कारवाही गर्ने
काठमाडौं । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ ।
मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताए ।
उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताए ।
‘अध्यक्षलाई हामीले भन्यौं तपाईहरुको उद्योग हाम्रो मन्त्रालय अन्तर्गत भएको हुनाले उद्योगीहरुको हकहितको साथै किसानको हकहित पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले किसान पहिलो हुन । किसानको तिर्नुपर्ने पैसा तपाईहरुले तिर्नुहोस, उद्योगीहरुसँग कुरा गर्नुहोस होइन भने नेपाल सरकार प्रचलित कानून बमोजिम जान्छ भन्यौं ,’ रेग्मीले बैठकमा भएको कुरा उल्लेख गर्दै भने ।
प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशिल भएको पनि बताए । किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरी पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि बताए ।
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पनि उद्योग मन्त्री भट्टले हदै सम्मको कारबाही गरेर भएपनि किसानलाई पैसा दिलाउने कुरा राखेका थिए ।
आफुले भने फेरी एकपटक पैसा भुक्तानीका लागि छोटो समय दिन आग्रह गरेको बताए ।
उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग किसानहरुको छ । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
गृह मन्त्रालयले भने किसानको पैसा नतिर्ने उद्योगलाई पक्राउ गर्ने परिपत्र समेत जारी गरेको छ ।