१४ वटा वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?



काठमाडौं । विभिन्न १४ वटा वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुले यसपटक बचत, मुद्दति तथा ऋणमा ब्यादर घटाएका छन् । मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर घटाएका छन् । २७ वटा वाणिज्य बैंकमध्ये १४ वटाले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सार्वजनिक गरेका हुन् ।

कुन बैंकको कस्तो ब्याजदर ?

 नबिल बैंक

नबिल बैंकले ब्याजदर परिवर्तन गरेको छ । बैंकले मंगलबार प्रकाशित गरेको नयाँ ब्याजदरमा मद्दति निक्षेपमा ब्याजदर ४ प्रतिशतदेखि बढीमा ८.१० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ३ महिनाका लागि ५ प्रतिशतदेखि १ वर्षका लागि ६.५ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी संस्थागततर्फ ३ महिनाका लागि ४ प्रतिशतदेखि ५ वर्षका लागि ८ प्रतिशत र संस्थागतको हकमा  नवीकरण हुने मुद्दति निक्षेपमा ०.१० प्रतिशत ब्याजदर बढी  दिने जनाएको छ ।

बैंकले विभिन्न १९ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकले बिजनेस लोन बढीमा ११.३७ प्रतिशतसम्म तोकेको छ । कृषि, उर्जा, माइक्रो कटेज र एसएमई क्षेत्रमा १ करोड रुपैयाँसम्मको ऋणमा बढिमा ११.३७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी नबिल नारी कर्जा, नबिल सजिलो कर्जा, नबिल सजिलो एक्सप्रेस कर्जा,  इक्विटी मोर्टेज लोन,  इन्स्टिच्युसनल अटो फाइनान्समा पनि बेसरेटमा अधिकतम ५ प्रतिशत अर्थात् अधिकतम ११.३७ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी रिटेल लोनतर्फ सबैभन्दा कम विद्युतीय गाडी खरिद गर्दा १०.३७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ भने हाउजिङ, मोर्टेज, अटो,  शैक्षिक, व्यक्तिगत ओभरड्राफ्ट कर्जामा बढीमा११.३७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको बेस रेट ६.३७ प्रतिशत छ भने स्प्रेड रेट ३.८० प्रतिशत तोकेको छ ।

एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको छ ।

कुनै सयम मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर दिने यो बैंकले ब्याजदर अहिले सबैभन्दा सस्तो ब्याजदर ब्याज दिने सार्वजानिक सूचना नै प्रकाशित गरेर जानकारी गराएको छ । बैंकले आइतबार एक दैनिक पत्रिकामार्फत् नयाँ ब्याजदर सार्वजनिक गरेको छ । साधारण बचत खातामा १.५ प्रतिशत र मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने बैैंकले जनाएको छ ।

बैंकले यसअघि साधारण बचतमा न्यूनतम १.५ प्रतिशत ब्याजदर, व्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत ब्याजदर दिँदै आएको थियो । जस अनुसार बैंकमा निक्षेपको ब्याजदर अन्तर ८.२५ प्रतिशत थियो ।

गत साता नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमापिसक समीक्षा गर्दै साधारण बचत खाता र मुद्दति खाताको ब्याजदर अन्तर (स्प्रेडदर) तोकेको थियो । जारी नीति अनुसार ‘बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गरिनेछ ।’

राष्ट्र बैंकको यसै नीतिमा टेकेर एनआइसी एशियाले मुद्दति निक्षेपको ब्याजदर ह्वात्तै घटाएको हो ।

बैंकहरुले मुद्दतिमा अत्यन्तै बढी र बचतमा अत्यन्तै न्यून ब्याज दिएपछि राष्ट्र बैंकले बचतको ब्याजदर बढाउने उदेश्यले ब्याजदरमा स्प्रेड तोकेको हो । यद्यपि राष्ट्र बैंकले कार्यविधि ल्याइसकेको छैन। अन्य बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकको कार्यविधि कुरेर बसेका छन् ।

केन्द्रीय बैंकले जुन उदेश्यले निक्षेपको ब्याजदरको अन्तर सम्बन्धी नीतिगत व्यवस्था गरेको भएपनि बैंकहरुले आफ्नो व्यवसायीक रणनीतिअनुसार ब्याजदर निर्धारण गर्न पाउने राष्ट्र बैंकका सह-प्रवक्ता नारायण प्रसाद पोख्ररेलले बताए ।

‘राष्ट्र बैंकले हेर्ने भनेको तोकेको अन्तर कायम भएको छ कि छैन भनेर मात्र हो,’ पोख्ररेलले क्लिकमाण्डूसँग भने, ‘सो अन्तरमा बैंकहरुले आफ्नो व्यवसायीक रणनीतिअनुसार ब्याजदर कायम गरी व्यवसाय गर्न सक्छन् ।’

बैंकहरुले निक्षेपको न्यूनतम ब्याजदर नबढाइ अधिकतम ब्याजदर घटाएमा निक्षेपकर्ताको आकर्षण सो बैंकमा घट्न गई व्यवसायमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६.५ प्रतिशतदेखि ५ वर्षभन्दा बढीको हकमा ८.५ प्रतिशत ब्याज दिनेछ । साथ ै संस्थागततर्फ न्यूनतम ६.५ प्रतिशतदेखि अधिकतम ७.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले ११ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने कल डिपोजिटमा १ प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी बैंकले ओभरड्राफ्ट, एजुकेशन, इमेपोटर्स लोन, अटो, वर्किङ क्यापिटल/ सर्ट टर्म लोन, होम लोन, होम अगेन्स्ट इक्विटी लोनमा १३.९ प्रतिशत ब्याजदर तोकेको छ ।  बैंकको असोजसम्मको बेस रेट ८.९ प्रतिशत र स्प्रेड रेट ४.३८ प्रतिशत छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ५ प्रतिशतदेखि ७ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी संस्थागत मुद्दतितर्फ ५.५ देखि ६.५ प्रतिशतसम्म, नवीकरण हुने मद्दतितर्फ ४.६० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यसैगरी रिक्वाएरिङ डिपोजिटतर्फ २ देखि १० वर्षसम्मका लागि ६ प्रतिशत ब्याजदर तोकिएको छ भने  यसैअन्तर्गत किसान बैंकिङ सेवातर्फ पनि ६ प्रतिशत ब्याजदर नै तोकिएको छ । बैंकले बचततर्फ २ देखि ३.५ प्रतिशत र कल डिपोजिटमा बढीमा १ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले फिक्स्ड ब्याजदरतर्फ घर बनाउनका लागि १० वर्षसम्म १०.९८ प्रतिशत ब्याजदर, १५ वर्षसम्मका लागि ११.९८ प्रतिशत र २० वर्षसम्मका लागि १२.९८ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी हायर पर्चेज लोन ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत, ५ वर्षभन्दा बढीको हकमा ११.४९ प्रतिशत ब्याजदर लाग्नेछ । त्यसैगरी शैक्षिक कर्जाको हकमा ५ वर्षसम्मका लागि ९.४९ प्रतिशत, ५ वर्षभन्दा बढीको हकमा १०.४९ प्रतिशत ब्याजदर लाग्नेछ ।

बैंकले हाउजिङ, एजुकेशन, हायर पर्चेज, १ करोड ५० लाखसम्मको रेसिडेन्सियल रियल स्टेट लोनमा अधिकतम १२.६८ प्रतिशत ब्याजदर लाग्ने जनाएको छ । बैंकको बेस रेट ७.६८ प्रतिशत र स्प्रेड रेट ३.९० प्रतिशत छ ।

एनएमबि बैंक

एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकले मद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यसैगरी संस्थागततर्फ नयाँको हकमा न्यूनतम ६.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म र नवीकरणको हकमा ६.३५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

बैंकले २२ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । जसमा बैंकले न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले एनएमबि मेरो क्रमिक खातामा (रिक्वयुरिङ डिपोजिट)मा ८ प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ ।

एनएमबि बैंकले विभिन्न लोन प्रडक्टहरुमा बेसरेटमा न्यूनतम २ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले अटो कर्जा, शैक्षिक कर्जा, होम कर्जामा बेसरेटमा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनासम्मको बेसरेट ७.२६ प्रतिशत छ ।

बैंकले फिक्स्ड ब्याजदरमा कर्जा लिनेको हकमा इनर्जी ब्राउन फिल्ड प्रोजेक्टमा न्यूनतम ९.४५ प्रतिशतदेखि १०.९५ प्रतिशतसम्म तोकिएको छ भने प्रोजेक्ट फाइनान्सिङको हकमा समयका आधारमा ९.२५ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

कुमारी बैंक

कुमारी बैंकले मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको १९ वटा बचत खातामा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले केही बचत खाताको हकमा न्यूनतम ब्यालेन्स हुनुपर्ने समेत उल्लेख गरेको छ ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी संस्थागत ५.५० प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी लोनतर्फ विभिन्न प्रकारको लोनमा बेस रेटमा थप अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनामा बेस रेट ८.३० प्रतिशत छ भने स्प्रेट रेट ४.१३ प्रतिशत छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पुस महिनाको ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६.७५ प्रतिशत १ वर्षभन्दा माथि २ वर्षसम्मका लागि ७.७५ प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ८.२५ र ५ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९ प्रतिशत दिने भएको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपमा २ वर्षसम्मका लागि नयाँ ५.५० देखि ६ र नवीकरणमा ६.२५ देखि ६.५० प्रतिशत रहेको छ ।

२ वर्षभन्दा माथिका लागि नयाँ ६ देखि ६.५० र नवीकरणतर्फ ६.५० देखि ६.७५ प्रतिशत छ भने ३३ महिनाको मुद्दति निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यस्तै बैंकको बचतमा न्यूनतम ०.१५ देखि ४.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले कर्जाको पनि ब्याजदर निश्चित गरेको छ । बैंकका अनुसार १ वर्षको इको लोनमा ९.९९ प्रतिशत र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर लाग्ने छ । यता एसएमई लोनमा १ वर्षको लागि ९.९९ र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । सुन चाँदी धितो कर्जामा ९.९९ प्रतिशत, ग्रोइङ इन्टरप्राइज लोनमा ७.९९ प्रतिशत, कृषि लोनमा ८.९९ प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै ७ वर्षसम्मका लागि १०.५० र १० वर्षसम्मका लागि १२.५० प्रतिशत ७ वर्षसम्मको हायर पर्चेज लोनमा १०.७५ र रिटेल लोनमा ७ वर्षसम्मका लागि ११ र १० वर्षसम्मका लागि १३ प्रतिशत ब्याज लाग्ने छ । बैंकका अनुसार कर्जा लिँदा न्यूनतम बेसरेटमा ०.५० देखि ५ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकले पुसको लागि बेसरेट सार्वजनिक गरेको छैन ।

 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ भने संस्थागततर्फ न्यूनतम ५.५ प्रतिशतदेखि ७.१ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

हाल बैंकले १७ प्रकारका बचत खाता सञ्चालन गरेको छ । जसमा बैंकले न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । त्यसैगरी बैंकले विदेशी मुद्राको बचतमा ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

त्यसैगरी लोनतर्फ पनि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको कात्तिक महिनामा बेसरेट ७.९८ प्रतिशत छ भने स्प्रेड रेट ३.८९ प्रतिशत छ । जसमा बैंकले ओभरड्राफ्ट, वर्किङ क्यापिटल, सर्ट टर्म, होम लोन, अटो लोन, एजुकेशन, प्रोफेसनल, मोर्टेज जस्त कर्जामा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर लिनेछ ।

बैंकले विभिन्न प्रकारका ऋण लिँदा बेसरेटमा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर थप गरी लिनेछ ।

बैंकले निश्चित ब्याजदरको हकमा होम लोनका लागि समय अनुसार १ करोड ५० लाख रुपैयाँसम्मको ऋणमा ८.४९ प्रतिशतदेखि ९.९९ प्रतिशत, त्यसभन्दा माथिको कर्जामा ८.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म लिने भएको छ । त्यसैगरी गाडी खरिद गर्नका लागि निश्चित ब्यादरमा ५ वर्षसम्मका लागि ९.४९ प्रतिशत र ५ वर्षभन्दा माथिको समयका लागि लिइने ऋणमा ९.९९ प्रतिशत ऋण दिने भएको छ ।

सनराइज बैंक

सनराइज बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत छ । यस्तै संस्थागततर्फ ३ महिनादेखि १ वर्षसम्मका लागि न्यूनतम ६.५० प्रतिशतदेखि अधिकतम ६.६०, साथै १ वर्षदेखि ५ वर्षका लागि ७ प्रतिशतदेखि ७.१० प्रतिशतसम्म, ५ वर्षदेखि १० वर्षसम्मका लागि ८ प्रतिशतदेखि ८.१० प्रतिशत र १० वर्षभन्दा माथिका लागि ९ प्रतिशतदेखि ९.१० प्रतिशतसम्म ब्याज रहेको छ ।

त्यस्तै बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । हाल बैंकले २२ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । कात्तिक मसान्तसम्मको बैंकको आधारदर ७.५१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले १३.५१ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट रियल स्टेट, डिमान्ड, टर्म, होम लोन, शैक्षिक धितोकर्जा, कृषिलगायत कर्जा लिँदा १३.५१ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

त्यस्तै बैंकले कर्जातर्फ फिक्स्ड ब्याजदर योजना पनि ल्याएको छ । जसमा ५ वर्षसम्मका लागि घर कर्जा लिँदा १०.५० प्रतिशतसम्म, ५ वर्षदेखि १० वर्षसम्मका लागि ११ प्रतिशतसम्म र १० वर्षदेखि १५ वर्षका लागि घर कर्जा लिँदा ११.५० प्रतिशत ब्याज लाग्ने छ । त्यस्तै शैक्षिक कर्जा लिँदा ५ वर्षसम्मका लागि ११ प्रतिशत र ५ देखि १० वर्षसम्मको कर्जा लिँदा ११.५० प्रतिशत र १० वर्षदेखि १५ वर्षसम्मको शैक्षिक कर्जा लिँदा १२ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकबाट कमर्शियल अटो लोन लिँदा ५ वर्षका लागि ११ प्रतिशत र ५ वर्षदेखि ८ वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याज लाग्ने छ । यता कस्टमरतर्फ ५ वर्षसम्मका लागि १०.७५ प्रतिशतसम्म र ५ वर्षदेखि ८ वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याज लाग्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा ऋणतर्फ बेसरेटमा थप न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले कात्तिक महिनामा बेसरेट ८.४३ प्रतिशत कायम गरेको छ । जसका आधारमा होम लोन समय सीमा अनुसार न्यूनतम ११.४३ प्रतिशतदेखि अधिकतम १२.४३ प्रतिशत ब्याजदर तोकेको छ भने अटो लोनको हकमा न्यूनतम न्यूनतम ११.४३ प्रतिशतदेखि अधिकतम १२.४३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले एसएमई लोनमा ८.४३ प्रतिशतदेखि बढीमा ११.९३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । फिक्स्ड लोनमा होम लोन ५ वर्षसम्मका लागि ११.४९ प्रतिशत, १० वर्षसम्मका लागि ११.९९ प्रतिशत, १० वर्षभन्दा माथिको समयका लागि कर्जा लिँदा १२.७४ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी व्यक्तिगत प्रयोजनका लागि ५ वर्षका लागि भेहिकल लोन लिँदा ११.९९ प्रतिशत, ७ वर्षसम्मका लागि कर्जा लिँदा १२.२४ प्रतिशत, ७ वर्षभन्दा माथि समयका लागि कर्जा लिँदा १२.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी व्यक्तिगत कर्जा लिँदा ५ वर्षसम्म ११.९९ प्रतिशत, १० वर्षसम्मका लागि १२.४९ प्रतिशत र १० वर्षभन्दा माथिको समयका लागि यस्तो कर्जा लिँदा १२.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  बैंकले हाल २३ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । जसमा न्यूनतम २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ८ प्रतिशतसम्म र सस्थागततर्फ न्यूनतम ५.५० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

 मेगा बैंक

मेगा बैंकले पुस महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मका लागि ६.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ७ प्रतिशत र १ वर्षभन्दा माथिको लागि ७.५० प्रतिशतसम्म ब्याज पाइने छ ।

यस्तै संस्थागततर्फ ३ महिनादेखि ६ महिनासम्मका लागि न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६.५० प्रतिशतदेखि ६.६० प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७ प्रतिशतदेखि ७.१० प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकले बचत खातामा न्यूनतम ०.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज पाइने छ । त्यसका लागि बैंकले न्यूनतम बचतको रकम तोकेको छ ।

कात्तिक महिनासम्म बैंकको आधारदर ७.८० प्रतिशत थियो । यो अवधिमा बैंकबाट कर्जा लिँदा १२.८० प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि होम, अटो, शैक्षिक धितोकर्जा, मोटरेज तथा अन्य खालका लोन लिँदा १२.८० प्रतिशत ब्याज लाग्ने जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । हाल बैंकले २८ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । जसमा बैंकले न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशत ब्याज दिने भएको छ । जसका लागि विभिन्न खातामा न्यूनतम बचत हुनुपर्ने समेत बैंकले बताएको छ ।

त्यसैगरी बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ५ प्रतिशतदेखि ७ प्रतिशतसम्म र संस्थागतर्फ ५.५० प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी बैंकले इन्स्टिच्युसनल ब्लक फिक्स डिपोजिट र स्पेसल फिक्स्ड डिपोजिटमा ६.५० प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले विभिन्न प्रकारका कर्जामा न्यूनतम ७.९८ प्रतिशतदेखि अधिकतम ११.७३ प्रतिशतसम्म ब्याददर कायम गरेको छ । बैंकले हायर पर्चेज लोनमा न्यूनतम ९.२३ प्रतिशतदेखि अधिकतम ११.७३ प्रतिशतसम्म ब्याज लिने भएको छ ।

 

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पुस महिनाको लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले अन्य बैंकको तुलनामा मुद्दति निक्षेपमा निकै कम ब्याज रहेको छ ।

बैंकबाट मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ प्रतिशदेखि ६.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । विभिन्न समय अवधिका लागि ३ प्रतिशतदेखि ६.५० प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै संस्थागतरुपमा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज रहेको छ ।

यता बचतमा भने १ प्रतिशतदेखि ३ प्रतिशतसम्म तथा कल डिपोजिटमा ०.२५ प्रतिशत ब्याज रहेको छ । कात्तिकसम्म बैंकको आाधारदर ८.३७ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा १३.३७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट वर्किङ क्यापिटल, सर्ट ट्रम, मोटरेज, एसएमई, शैक्षिक कर्जा, होम, अटो, हायरपर्चेज, शेयर धितोकर्जा लिँदा १३.३७ प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै बैंकले ऋणका लागि फिक्स्ड रेट योजना ल्याएको छ । शैक्षिक कर्जा ३ वर्षसम्मको लागि १२.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्षका लागि १३.५० प्रतिशत, ५ वर्षदेखि १० वर्षका लागि १४ प्रतिशत, १० वर्षभन्दा बढी अवधिको कर्जाका लागि १४.५० प्रतिशत ब्याज लिने जनाएको छ ।

यस्तै होम लोन लिँदा ३ वर्षसम्मका लागि १२.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्षको लागि १३.५० प्रतिशत, ५ वर्षदेखि १० वर्षका लागि १४ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको लागि १४.५० प्रतिशत ब्याज लाग्ने छ ।

यता पर्सनल हायर पर्चेज, मोटरेज, भुपु, मार्जिन वर्कर्स, रियल स्टेट लोन लिँदा ३ वर्षसम्मको लागि १२.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्षका लागि १३.५० प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याज लाग्नेछ ।

नेपाल बैंक

नेपाल बैंकले घर र गाडी किन्नका लागि न्यूनतम ८.३६ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा न्यूनतम ७.८६ प्रतिशतमै शैक्षिक कर्जा दिने उल्लेख गरेको छ ।

बैंकको असोजमा बेसरेट ६.८१ प्रतिशत छ भने स्प्रेडरेट ४.३७ प्रतिशत छ । जसमध्ये अटो लोन न्यूनतम ८.२६ प्रतिशतदेखि १०.९७ प्रतिशत, होम लोन न्यूनतम ८.२६ प्रतिशतदेखि अधिकतम१०.४७ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । त्यसैगरी शैक्षिक कर्जामा ७.८५ प्रतिशतदेखि ११.८३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले विभिन्न २५ प्रकारका बचत खातामा न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ भने मुद्दति निक्षेपमातर्फ ५.५० प्रतिशतदेखि ७ प्रतिशत ब्याज दिनेछ ।


क्लिकमान्डु