महानगरको घोषणा ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा गरेको छ । २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाले उक्त कार्यक्रम घोषणा गरेको हो ।
समृद्धिको आधारलाई आत्मसात गर्दै जनस्वास्थ्य सम्वन्धी सेवालाई बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले तय गरेको जनस्वास्थ्य नीति कार्यन्वयन गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपरर्दो बनाउने योजना अन्तर्गत मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा यो कार्यक्रम घोषणा गरेको जनाएको छ ।
कार्यक्रम अन्तरर्गत वडा–वडामा पिसाव परीक्षण गर्ने, परिक्षण गर्दा रोगको लक्षण देखिएका व्यक्तिहरुको प्रयोगशालामा परीक्षण गर्ने, सो सम्वन्धी तालिम दिनेलगायत रहेको छ । उक्त कार्यक्रम पुस १ गतेबाट लागु हुने पनि महानगरपालिकाले जानकारी दिएको छ ।
महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाटीले काठमाडौँ महानगरपालिकाले कोरोनो रोकथाम र नियन्त्रणका लागि लकडाउनको समयमा उल्लेख्य भूमिका खेलेको स्मरण गराए ।
कोरोना रोकथाम र नियन्त्रणका बेला मुलुकभरीका स्थानीय तहले खेलेको भूमिकाका कारण संघीयता मुलुकका लागि अपरिहार्य भएको प्रमाणित गरेको पनि उनले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाह वा चन्दा पुरस्कारमा प्राप्त भएको होइन,’ उनले भने, ‘अब मुलुकका लागि संघीयता स्थापित भैसकेको छ । यसलाई सामान्य झड्काले परास्त गर्न सकिन्न भन्ने पुष्टि काठमाडौँ महानगरपालिकाले गरेको छ ।’
कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गको उपस्थितिमा केही दिन अघि मात्रै काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान गर्ने विषयमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सम्झौता भएको स्मरण गराए । ‘पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, लाजिम्पार्टलगायतका क्षेत्रमा आधुनिक बत्ती जडानको कार्य अघि बढाउने सहमति भएको छ’ उनले भने ‘संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरलाई उज्यालो महानगर बनाउने अभियान अघि बढिसक्यो ।’
उनले काठमाडौँ महानगरपालिकाले भित्रि सडक मात्रै होइन मुख्य सडक पनि झिलिमिली बनाउने योजनाका साथ अघि बढेको बताए । उनले स्वाथ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारकारको दायित्व भित्र रहेको भए पनि काठमाडौँ महानगरपालिकाले पनि विभिन्न नियकायसँगको सहकार्यमा काम गर्दै अघि बढेको बताए । महानगरपालिका क्षेत्र भित्र राष्ट्रियस्तरका सरकारी अस्पतालहरु रहेको स्मरण गराउँदै ती अस्पतालसँगको सहकार्यमा कोभिड नियन्त्रण र रोकथामका लागि विभिन्नखाले सहकार्य गर्दै आएको पनि उनले बताए ।
‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा त्यसै मध्येको एक हो,’ उनले भने, ‘कोभिडको जोखिम बढ्नु अघि नै काठमाडौँ महानगरपालिकाले त्यसको रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना गरेको थियो ।’
त्यसैगरी शाक्यले सम्पदा संरक्षण, हरियाली प्रर्वद्धर्नलगायका सन्दर्भमा पनि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए ।
हरेक वर्ष वाजा गुरुलाई सम्मान गर्दै आएको स्मरण गराउँदै शाक्यले यहाँका मुर्त–अमूर्त सम्पदाको संरक्षणमा विशिष्ट योगदान दिएका व्यक्तिहरुलाई समेत सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।