कोरोना बीमाः कुन कम्पनीले कति भुक्तानी दिए, कति दिन बाँकी छ ?



काठमाडौं । कोरोना बीमामा हालसम्म ४ अर्ब ७ करोड १८ लाख ५० हजार रुपैयाँको दावी परेको छ । जसमध्ये १ अर्ब २ करोड ९६ लाख रुपैयाँमात्र कम्पनीहरुले बीमितलाई दावी भुक्तानी गरेको छन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांक अनुसार कम्पनीहरुमा परेको कुल दावीमा ३ अर्ब ४ करोड २२ लाख ५० हजार रुपैयाँ बक्यौता रहेको देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमार्फत् गत बैशाखबाट शुरु भएको कोरोना बीमा लेख बिक्री गरी हालसम्म कम्पनीहरुले प्रिमियम भने ९८ करोड ८१ लाख ४५ हजार रुपैयाँ संकलन गरेका छन् । जुन कम्पनीमा परेको दावी भुक्तानीको रकमको तुलनामा ७५.७३ प्रतिशत थोरै हो ।

कोरोना बीमा लेख बिक्री गरी आर्जन गरेको बीमा शुल्कभन्दा ३ अर्ब ८ करोड ३७ लाख रुपैयाँ बढी दावी भुक्तानीको दायित्व भार कम्पनीहरुमा परिसको छ ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार कोरोना बीमा गरी संक्रमित भएका ४१ हजार ८ सय २७ जना बीमितले दावी गर्दा हालसम्म १० हजार ५ सय ६३ जनाले मात्र भुक्तानी पाएका छन् ।

कोरोना बीमा दावी गर्ने ३१ हजार २ सय ६४ जना बीमितले ३ अर्ब ४ करोड २२ लाख ५० हजार रुपैयाँ भुक्तानी हालसम्म नपाएका हुन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमार्फत भइरहेको कोरोना बीमा दावीमा शिखर इन्स्योरेन्स ५७ करोड र राष्ट्रिय बीमाको ३३ करोड रुपैयाँ माथि दावी बक्यौता रहेको छ । साथै, सगरमाथा, नेको र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको कोरोना बीमा दावी भुक्तानी बक्यौता २० करोड माथि छ ।

यस्तै, लुम्बिनी, आइएमई जनरल, एभरेष्ट, युनाइटेड, हिमालयन, प्रिमियर र प्रभु इन्स्योरेन्सको १० अर्ब रुपैयाँ बढी कोरोना बीमा दावी भुक्तानी बक्यौता छ । अन्य ८ वटा कम्पनीहरुको दावी भुक्तानी बक्यौता २८ करोड रुपैयाँदेखि ९१ करोड रुपैयाँ बढीसम्म छ ।


पुष्प दुलाल