भिजिट भिसामा थप कडाइ, परिवार वा स्थानीय तहको सिफारिस र सामान्य अंग्रेजी चाहिने



काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जानेको हकमा थप कडाइ गरिने भएको छ । भिजिट भिसाको बाहनामा श्रमका लागि जानेहरुको उजुरी बढेपछि अध्यागमन विभागले कार्यविधि संशोधन गर्दै थप कडाइ गर्न लागेको हो ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार हाल व्यवस्था भएकोभन्दा पनि थप केही कडाइ गर्नुपर्ने देखिएकाले कार्यविधि संशोधन गर्दै केही थप व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘कोरोना महामारीका बीचमा श्रम कार्यालय खुलेको र भिजिट भिसा सहजै पाइने भएकाले धेरै मानिसहरुले भिजिट भिसामा विदेश जान लागेको भेटियो, यसलाई रोक्नका लागि कार्यविधि संशोधन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन,’ उनले भने ।

हाल भिजिट भिसामा जानेहरुका हकमा जेन्युन भिजिट भिसा हुनुपर्ने, दुईतर्फी टिकट हुनुपर्ने, त्यहाँ बस्नका लागि होटल वा स्पोन्सरको व्यवस्था हुनुपर्ने र साथमा कम्तीमा १ हजार डलर हुनुपर्ने व्यवस्था छ ।

तर पछिल्लो समयमा भिजिट भिसा लिएर श्रम बजारका लागि जानेहरुको संख्या बढेको जानकारी आएपछि विभागले थप कडाइ गर्ने तयारी गरेको महानिर्देशक केसीको भनाइ छ ।

यी मापदण्ड थपिँदै छन्
महानिर्देशक केसीका अनुसार अहिले कार्यविधि संशोधनका लागि आन्तरिक छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन । जसमा मुख्य गरी ३ वटा कुरामा फोकस गरिएको छ ।

जसमा पहिलो नम्बरमा भिजिट भिसामा जानेहरुको हकमा २० लाख बराबरको बीमा गरेको हुनुपर्नेछ । ताकी उक्त व्यक्ति विदेशमा अलपत्र परेमा, बिरामी भएमा त्यसले सुरक्षा गर्न सकोस् ।

त्यसैगरी यदि कुनै व्यक्ति परिवारको सहमति बिना नै भिजिट भिसामा जान लागेको छ भने उक्त व्यक्तिको हकमा पनि परिवार वा स्थानीय तहको सिफासिस आवश्यक पर्नेछ । यो अहिले छलफल कै चरणमा छ ।

त्यसैगरी भिजिट भिजामा एक्लै जान लागेको छ र सामान्य अंग्रेजी पनि बोल्न जाँदैन भने त्यस्ता व्यक्तिलाई शंकाको घेरामा राखिनेछ । त्यसका कारण सगोलमा जानेको हकमा भन्दा पनि एक्लै कोही व्यक्ति भिजिट भिसामा जान लागेको छ र सामान्य अंग्रेजी बोलेर कम्युनिकेट पनि गर्दैन भने त्यस्ता व्यक्ति जान पाउने छैनन् ।

करिब १५० जनालाई अफलोड गरियो
अध्यागम विभागका अनुसार गत साता मात्रै भिजिट भिसा लिएर श्रमका लागि विदेश जान खोज्ने १५० जनालाई विमानस्थलबाटै फिर्ता पठाइएको छ । विभागका अनुसार उनीहरु पहिले श्रमका लागि विदेश गएको र अहिले श्रम लिन नपाउँदा भिजिट भिसामै भए पनि जान लागेको पाइएपछि उनीहरुलाई अफलोड गरिएको थियो ।

‘पासपोर्टमा पहिले श्रमका लागि गएको देखिन्छ, सामान्य अंग्रेजी पनि बोल्न जाँदैनन् र साथमा १ हजार डलर पनि नभएकाहरुको हकमा अफलोड गरिएको हो,’ केसीले भने ।

९० प्रतिशत यूएईमा जाने
विभागका अनुसार पछिल्लो समय भिजिट भिसामा जानेहरु धेरै संयुक्त अरब इमिरेट्सका लागि भएको देखिएको छ । त्यहाँको भिजिट भिसा सहजै पाइने भएकाले पनि धेरै जसो यूएईमा भिजिट भिसामा जान लागेको पाइएको छ । भिजिट भिसामा जाने र त्यहाँ श्रम गर्ने गरेको विभागले पत्ता लगाएको छ ।

‘गत साता मात्रै १५० जना अफलोड गरिएकोमा एउटै विमानमार्फत् जाने ३० जनासम्म छन्,’ उनले भने, ‘उनीहरुसँग ७ लाख रुपैयाँ बराबरको बीमा छ भने साथमा १ हजार डलर पनि छैन ।’

विभागले संशोधन गर्न लागेको कार्यविधि सन् २०२१ को शुरुवातबाटै कार्यान्वयनमा ल्याउने गरी छलफल भइरहेको छ ।


क्लिकमान्डु