कोरोना बीमाः करिब पौने ४ अर्ब रुपैयाँ दावी, भुक्तानीको दायित्व अब बीमा समितिमा



काठमाडौं । कोरोना बीमामा हालसम्म कुल ३ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ बढी दावी परेको छ । जसमध्ये २ अर्ब ९७ करोड १६ लाख रुपैयाँमात्र कम्पनीहरुले बीमितलाई दावी भुक्तानी गर्न बाँकी छ ।

निर्जीवन बीमा कम्पनीमार्फत् गत बैशाखबाट शुरु भएको कोरोना बीमालेख बिक्री गरी हालसम्म कम्पनीहरुले प्रिमियम भने ९८ करोड ६६ लाख रुपैयाँ संकलन गरेका छन् ।

जुन कम्पनीमा परेको दावी भुक्तानीको रकमको तुलनामा ७३.२५ प्रतिशत अर्थात् २ अर्ब ७० करोड २० लाख रुपैयाँ बढी हो ।

कम्पनीमा परेको कुल दावीमा हालसम्म ७१ करोड ७० लाख रुपैयाँ भुक्तानी भइसकेको छ । भने संकलित प्रिमियमबाट कम्पनीहरुले ५० करोड ८३ लाख रुपैयाँ मात्र दावी बक्यौता भुक्तानी गर्न सक्छन् ।

कुल दावी भुक्तानी बक्यौताबाट बचतमा रहेको प्रिमियमबाट बाँकी रहेको २ अर्ब ४३ करोड ३३ लाख रुपैयाँबाट १ अर्ब नेपाल पुनर्बीमा कम्पनीले गर्नुपर्नेछ । र, बाँकी ५० करोड रुपैयाँ बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट भुक्तानी गर्नुपर्छ ।

जसपछि बाँकी ९६ करोड ३३ लाख रुपैयाँ बक्यौता दावीभुक्तानीको दायित्व बीमा समितिमा पुगेको छ ।

शुरुवातमा बीमा पुलअन्तर्गत रहेर दाबीको दायित्व बहन गर्ने सम्झौता गरी कोरोना बीमा सञ्चालनमा ल्याइएको थियो ।

जसमा २० प्रतिशत पुनरबीमा कम्पनीले र ८० प्रतिशत २० वटा बीमा कम्पनीहरुले ४/४ प्रतिशत गरेर दाबी भुक्तानी गर्नुपर्ने थियो । तर कोरोना संक्रमितको संख्या बढेसँगै यसको दायित्वको मोडालिटी पनि परिवर्तन गरियो ।

कोरोना बीमा दावी भुक्तानीको पछिल्लो सम्झौतामा यसको भुक्तानी पुल अन्तरगर्त रहेर गर्नु पर्दैन । अर्थमन्त्रालय, बीमा समिति र बीमक संघबीच भएका सम्झौताअनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी पूलअन्तर्गत दाबी भुक्तानी गर्नेछन् ।

त्यसपछि १ अर्ब रुपैयाँ पुनर्बीमा कम्पनीले, त्यसपछिको ५० करोड रुपैयाँको दाबी बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट बहन गर्नेछन् ।

यसैगरी २ अर्ब ५ करोड रुपैयाँमाथिको १ अर्ब रुपैयाँ बीमा समितिले दायित्व लिनेछ । सोभन्दा माथि परेको दावीको दायित्व सरकारले बहन गर्नेछ । जसअनुसार अब कोरोना बीमाको दावी भुक्तानी दायित्व बीमा कम्पनी, पुनर्बीमा हुँदै बीमा समितिमा पुगेको छ ।


क्लिकमान्डु