प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको ६० लाख कित्ता आइपीओ (साधारण सेयर) निष्कासन गर्ने भएको छ ।
इन्स्योरेन्सले मंसिर २९ गतेबाट प्रति कित्ता १०० रुपैयाँका दरले आइपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा पुस २ गतेसम्म आवेदन दिन पाइने छ । त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ ।
६० लाख कित्तामा ३ लाख कर्मचारी र ३ लाख म्युचुअल फन्डलाई छुट्याइएको छ भने ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ दिएको छ ।
उक्त सेयरमा लगानीकर्ताले सी– आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो सेयरबाट पनि आवेदन दिन पाउने छन् । ६० करोडको आईपीओ निष्कासन गरेपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।