परिसंघद्वारा एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीलाई पहिलाे पटक स्वागत



काठमाडौं । नेपाल उद्योग वािणज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । परिसंघले पहिलो पटक महासंघका पदाधिकारीलाई स्वागत गरेको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रका दुई सशक्त संस्थाहरु बीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै भन्दै महासंघसँगको सहकार्यलाई थप सुदृढ र मज्बुत बनाउन आवश्यक रहेको बताए ।

अध्यक्ष मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या तथा समग्र आर्थिक नीतिहरुमा देखिने अस्पष्टता हटाउन आवश्यक प्रयासहरुलाई एकताबद्ध रुपमा संयोजन गर्न सकियो भने निजी क्षेत्रको विकास तथा दिगो औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका समस्या उस्तै भएपनि कतिपय अवस्थामा उद्योगको वर्गिकरण र क्षमताका आधारमा समस्याहरु फरक पर्ने बताए । उनले निजी क्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य गर्ने पहिलो प्राथमिकता भएको बताए ।

विगतमा पनि परिसंघसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै निजी क्षेत्रको सामूहिक भिजन आवश्यकता भएको बताए । उनले त्यसलाई मूर्तरुप दिन निजी क्षेत्र एक भएर अगाडि बढ्नु पर्ने बताए ।

आर्थिक पुनर्उत्थान तथा औद्योगिक विकासको साझा एजेण्डामा परिसंघ र महासंघ मिलेर काम गर्ने बताए । निजी क्षेत्रका संस्थाहरु प्रतिस्पर्धीभन्दा साझेदारको अघि बडेको खण्डमा निजी क्षेत्रबाटै समृद्धि सम्भव छ भन्ने महशुस गराउन सहकार्यलाई थप विस्तार र सुदृढ गर्दै जाने बताए ।

कार्यक्रममा परिसंघ र महासंघका पदाधिकारीहरुले उच्च आर्थिक वृद्धि, रोजगारी विस्तार, निर्यात बढाउने तथा व्यापार घाटा कम गर्ने लगायत निजी क्षेत्रको विकास तथा सम्मान बढाउने एजेण्डामा आपसी सहकार्यले परिणाम दिन सक्ने भएकाले त्यसतर्फ सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि परिसंघ खुल्ने समयमा महासंघको तत्कालिन पदाधिकारीले रोक्न खोजेका थिए । त्यो समयमा रोक्न खोजेपछि दुवै संस्थाबीच तिक्तता बढेको थियो । तथापी सामोहित हितको विषयमा भने आवश्यक सहकार्य जारी राखेको थियो ।


क्लिकमान्डु