३ दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न अर्थको बीमा समितिलाई निर्देशन



काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानी नगर्ने कम्पनीको विवरण माग गरेको छ ।

मन्त्रालयले बिहीबार बीमा समितिलाई समयमा नै दाबी भुक्तानी नगर्नुको उचित कारण सहित कोरोना दाबी परेका कम्पनीको नामावली पठाइ तीन दिन भित्र भुक्तानी गर्न÷गराउन निर्देशन दिएको छ ।

यसअघि दिएको सात दिन भित्र दाबी भुक्तानी दिनुपर्ने निर्देशन कार्यान्वयन नभएको भन्दै मन्त्रालयले पुनः तीन दिन भित्र भुक्तानी गर्न निर्देन दिएको हो ।

मन्त्रालयले निर्देशन जारी गर्र्दै कोरोना बीमा दाबी भुक्तानीको लागि विभिन्न कम्पनीबाट प्राप्त दाबी, भुक्तानीमा के कस्ता समस्या देखिएका छन ? हाल कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङमा रहेको छ ? त्यसको पहल गर्नुपर्ने विषय केके हुन ? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउन अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले निर्देशन दिएको हो ।

जसमा महाशाखाले कोरोना पोजेटिभ रिपोर्टको भेरिफिकेशन गर्न बाँकी र दाबीको भेरिफिकेशन चाडो सकेर भुक्तानी तीन दिनमा गरेर दैनिक रुपमा मन्त्रालयमा गराउन भनेको छ ।

अब समितिले मन्त्रालयमा दैनिक रुपमा कोरोना बीमाको हालसम्मको संख्या, कागजात पुरा भएको दाबीको संख्या, भेरिफिकेशनको लागि स्वास्थ्य सेवा विभाग पठाएको संख्या, नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पुरा भइ भुक्तानी हुन बाँकीको विवरण मन्त्रालयमा पठाउनु पर्ने छ । समितिले यसअघि दिएको निर्देशन बमोजिम प्रगति विवरण पठाएको थिएन । त्यसैले मन्त्रालयले नयाँ निर्देशन दिएको हो ।


क्लिकमान्डु