अर्थमन्त्रीसँग भेटेर महासंघको टोलीले राख्यो दोहोरो कर घटाउने माग



काठमाडौं ।  उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् ।

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् । उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफुहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताए ।

अध्यक्ष गोल्छाले महासंघले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको ‘भिजन डकुमेन्ट’ तयार गर्ने कार्यलाई अगाडी अगाडि बढाएको जानकारी दिए ।

यसरी दुई सरकारबाट कर अशुली गर्नु कानून विपरित भएको उनले बताए ।

यस्तै देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताए । त्यसका लागि कुनकुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यस तर्फ ध्यान दिन माग गरे ।
यस्तै सरकारले निर्यातलाई अझबढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न सुझाव दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभयो । निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए ।

कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेट मार्फत वा मौद्रिक नीति मार्फत सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थभन्त्री पौडेलले बताए ।

महासंघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयले निजी क्षेत्रसंगको सहकार्यलाई विशेष जोड दिई आएको र आगामी दिनमा पनि यस कार्यलाई थप मजवुत बनाउंदै जाने विश्वास दिलाए ।

महासंघका तर्फबाट अनुसन्धानमा आधारित रहेर सुझाव तयार गरी सरकारलाई पेश गर्ने कुरालाई आफूले अत्यन्त सकारात्मक रूपमा लिएको पनि बताए ।

अर्थमन्त्रीले महासंघसंग नियमित र संस्थागत संवादका माध्यमबाट अगाडी बढ्ने स्पष्ट पार्दै बजेट र मौद्रिक नीति मार्फत सम्बोधन गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारको समेत जोड रहेको स्पष्ट पार्नुभयो । अर्थमन्त्रीले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना समेत दिए ।


क्लिकमान्डु