विवाहको समयमा पनि बिक्री भएन सुन, कोरोनाका कारण कालीगढको अभाव



काठमाडौं । सामान्य अवस्था हुँदो हो त मंसिरकोको मध्य समयमा सुनचाँदी पसलमा मानिसको निक भिड हुन्थ्यो । मंसिरको महिनामा विवाहका लागि धेरै साइत जुर्ने भएकाले बजारमा विवाहको रौनकसँगै सुनचाँदीको व्यापार पनि चम्किँदो हुन्थ्यो ।

तर, विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले भने यो वर्ष सुनको व्यापारीमा भने उत्साह देखिएको छैन । लामो समयको लकडाउनपछि व्यापारले भर्खरै गति लिएको छ भने सुनको मूल्य पनि निकै बढेको छ । जसका कारण व्यवसाय निकै प्रभावित भएको व्यापारीहरू बताउँछन् ।

‘मंसिर महिना विवाहका लागि उत्तम महिना मानिन्छ, साथै विवाहमा सुनका गहनाको प्रयोग बढी हुन्छ, कारण विगतको दिनमा गरगहनाको अर्डर धेरै आउँथ्यो,’ मैतिदेवीस्थित ओम्नी अर्नामेन्ट्सका सञ्चालक एक्सन श्रेष्ठले भने, ‘तर, यो वर्ष कोरोनाले गर्दा गरगहनाको अर्डर कम मात्रामा आएको र उत्साह पनि छैन ।’

उनका अनुसार कोरोनाले अस्तव्यस्त बनाएको बजार सामान्य अवस्थामा फर्किने आशा भने पलाएको छ । तर, गत वर्षको तुलनामा भने मंसिर महिनामा ५० प्रतिशतले व्यापार घटेको बताए ।

यसैगरी, करिब ७ महिना चलायमान हुन नसकेको व्यापार कोरोनाको तीव्र संक्रमण भएको समयमा पनि सामान्य अवस्थामा जस्तो व्यापार हुनु स्वाभाविक रहेको उनको भनाइ छ ।

कोरोनाले गर्दा तीजमा व्यापार गर्न नपाएकाले मंसिरमा धेरथोर व्यापार हुने आशा राखे पनि भनेजस्तो व्यापार नभएको बागबजारस्थित रहेको प्रेम गुरुजु ज्वैलरीका सपका सञ्चालक मोहन बज्राचार्य बताउँछन् ।

गत वर्ष मंसिर महिनामा सामान्य अवस्थाको भन्दा धेरै राम्रो व्यापार हुन्थ्यो तर, यो वर्ष भने २५ प्रतिशतले पनि व्यापार हुन नसकेको उनको अनुभव छ ।

एकातिर कोरोना र अर्को तिर सुनको मूल्य निकै महंगो भएकाले गरगहना बनाउने ग्राहकमा उत्साह नदेखिएको उनको बुझाइ छ ।
त्यस्तै, कोरोनाको समयकोभन्दा व्यापार ठीक भए पनि मंसिरको माहोललाई हेर्ने हो भने व्यापार ठीक नभएको आनन्द ज्वैलर्सका सञ्चालक पारस अग्रवालले बताए ।

‘मंसिरमा हुने विवाहको लगनमा विगतका वर्षमा जुन चाप हुन्थ्यो त्यो अहिले छैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘गत वर्षको तुलना गर्दा २५ प्रतिशतले व्यापार कम भएको छ । साथै, मानिसको भीड पनि कम नै रहेको छ ।’ यस्तै, लकडाउनपछिको दशैं, तिहारको स्थिति हेर्दा व्यापार भने राम्रो भइरहेको उनले बताए ।

मंसिरमा ५० प्रतिशत व्यापार कम

कोरोनाले तीज तथा दशैंमा राम्रो व्यापार गर्न नसकेको व्यवसायीहरूले तिहार र मंसिरमा ५० प्रतिशतले व्यापार गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मनिरत्न शाक्य बताउँछन् ।

उनका अनुसार विगतको दिनमा मंसिरका लागि पूर्व तयारी शुरु हुने गथ्र्यो । तर, यो वर्ष कोरोनाले गर्दा अस्तव्यस्त बनाएको बताए ।

‘सामान्य अवस्थामा तीजदेखि अर्डर, रेडिमेडलगायत अन्य कामहरू मंसिरसम्मै हुन्थ्यो,’ उनले भने, ‘यो वर्ष तीजमा पनि काम गर्न सकिएन । दशैंमा १०, १५ प्रतिशतले व्यापार भएको थियो भने तिहारमा चाँदीको व्यापार ४० प्रतिशतले भएको थियो । त्यस्तै अहिले मंसिरमा भने ५० प्रतिशत मात्रै व्यापार गरेको छ ।’

त्यसैगरी, यो मंसिरमा ४ वटा मात्रै लगन भएकाले पनि त्यति धेरै उत्साह नदेखिएको उनको बुझाइ छ ।

कालीगढको समस्यासँगै सुनको अभाव

नेपाली बजारमा चाँदीको गरगहना बनाउनका लागि ८० प्रतिशत नेपाली कालीगढ हुन्थ्यो भने २० प्रतिशत मात्रै भारतीय कालीगढको आवश्यक पर्दछ । तर, सुनमा भने अधिकांश कालीगढ भारतीय र थोरै मात्रामा नेपाली कालीगढको आवश्यक भएकाले कालीगढको समस्या भइरहेको अध्यक्ष शाक्य बताउँछन् ।

जसमा हाल ५० प्रतिशत मात्रै कालीगढ नेपालमा आउन सकेको बताए ।

‘कोही काम पूरा नभएसम्म आउन नै नचाहेको, कोही आउन चाहेर पनि कडाईले गर्दा आउन नसकेको अवस्था छ,’ उनले भने ।

यसले गर्दा अर्डर भएको सामान समयका तयार गर्न नसकेको र अर्कोतिर बजारमा सुनको हाहाकार बढेको उनले बताए । हाल बजारमा कालीगढ उपलब्ध भएता पनि सुन पाउन मुस्किल भएको उनको भनाइ छ ।

अहिले कालीगढलाई काम दिन्छु र उपभोक्ताको काम गर्छु भन्दा व्यापारीहरूले सुन पाइरहेको अवस्था छैन । त्यसैले मंसिरको समयमा सुन चाँदीको अत्यधिक काम हुनुपर्नेमा अहिले आधा रुपमा मात्रै काम देखिरहेको उनले बताए ।

सुनको अभाव हुनुमा सबैभन्दा मुख्य कारण भने सुनको मूल्यवृद्धिले गर्दा भएको उनले जानकारी दिए ।

‘कोरोनाले व्यवसाय ठप्प भएको अवस्थामा सुन स्टकमा राखेर के गर्नु भन्यो । तर, अहिले चाहिएको बेलामा न कालीगढ छ न सुन नै,’ उनी भन्छन् ।साथै, अहिले कोरोनाको समयमा सुनको आयात ठप्प भएकाले बैंकसँग भएको मौज्दात सुन पनि व्यापारीलाई दिइसकेको उनले बताए । त्यस्तै अहिले भने नेपाल राष्ट्र बैंकले दैनिक १० केजीसम्म आयात गर्ने भएको उनले जानकारी दिए ।


क्लिकमान्डु