विदेशी पर्यटक ल्याउन भिसा खुकुलो बनाइने



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विभिन्न देशबाट पर्यटक ल्याउनका लागि काम गर्नुपर्ने बताएका छन् । यसका लागि विदेशीहरुको हकमा भिसा केही खुकुलो बनाउने बताएका हुन् ।

‘राज्यले लिएको समृद्धिको लक्ष्य हासिल गर्नका लागि पर्यटन क्षेत्र पनि हो । त्यसैले पर्यटनलाई अधिकतमरुपमा प्रबद्र्धन गर्न सकियो भने त्यो लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने ।

उनका अनुसार पर्यटकहरुलाई देशमा बढीभन्दा बढी ल्याउने योजना अनुसार सहजका लागि काम शुरु गरिएको छ । त्यसका लागि संघसंस्था तथा कम्पनीहरुलाई सहजिकरणका लागि जिम्मेवारी दिने समेत उनले बताए ।

कोरोना भाइरसको महामारी शुरु भएलगत्तै विदेशी पर्यटकलाई नेपाल आउन बन्द भएको छ । जसका कारण राज्यले लिएको भिटिज नेपाल २०२० समेत प्रभावित भइसकेको छ ।

२० लाख पर्यटक ल्याउने लक्ष्यसहित शुरु गरिएको भिजिट नेपाल २०२० लाई कोरोना महामारीका कारण स्थगित गरिएको थियो । त्यसपछि मुलुकमा लागू भएको लकडाउनका कारण पर्यटन क्षेत्र अत्यन्त प्रभावित भएको छ ।

अध्यागमन विभागका अनुसार नेपालमा सन् २०२० मा २ लाखभन्दा बढी पर्यटक आएका छन् । कात्तिम महिनामा मात्रै २ हजार विदेशी नागरिक नेपाल आएका थिए ।

हाल लकडाउन हटेसँगै आन्तरिक पर्यटनले विस्तार भए पछि विदेशी पर्यटकहरु आउन सकेका छैनन् । साथै अझै पनि अधिकांश पर्यटकीय गन्तव्य खुल्न सकेका छैनन् ।

लामो समय बन्द रहँदा नेपालको पर्यटक क्षेत्र प्रभावित भएको छ । जसका कारण लाखौं श्रमिकहरुले रोजगारी समेत गुमाएका छन् ।


क्लिकमान्डु