निर्जीवन बीमा कम्पनीले संकलन गरे झण्डै १० अर्ब बीमा शुल्क, कसको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा निर्जीवन बीमा कम्पनीले ९ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो असोज महिनाको तुलनामा २ अर्ब ३० करोड रुपैयाँले बढेको हो ।

असोज महिनामा २० वटा निर्जीवन बीमा कम्पनीले ७ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । बीमा समितिका अनुसार कात्तिक महिनामा मात्रै २ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १९ वटा निर्जीवन बीमा कम्पनीलाई उछिन्दै बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

शिखर इन्स्योरेन्सलाई पछ्याइरहेको सगरमाथा इन्स्योरेन्सले कात्तिक महिनासम्ममा बीमा शुल्क आर्जनमा दोस्रो बनेको छ ।

सगरमाथाले कात्तिक मसान्तसम्मा ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै प्रिमियर इन्स्योरेन्सले ५७ करोड, नेपाल इन्स्यारेन्सले ४१ करोड, ओरियन्टल इन्स्योरेन्सले ३९ करोड, नेशनल इन्स्योरेन्सले ३१ करोड, हिमालयन जनरल इन्स्योरेन्सले ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै यूनाइटेड इन्स्योरेन्सले कात्तिक महिनासम्ममा ३७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने एभरेष्ट इन्स्योरेन्सले ३३ करोड बीमा शुल्क संकलन गरेको छ ।

यता प्रभु इन्स्योरेन्सले ४९ करोड, आईएमई इन्स्योरेन्सले ४७ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले ४२ करोड, लुम्बिनी इन्स्योरेन्सले ४६ करोड, एनएलजी इन्स्योरेन्सले ७३ करोड, सिद्धार्थ इन्स्योरेन्सले ८१ करोड, जनरल इन्स्योरेन्सले २४ करोड, अजोड इन्स्योरेन्सले ४२ करोड र सानिमा इन्स्योरेन्सले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्कक भने बीमा समितिले पाएको छैन । जसले गर्दा कम्पनीको तथ्याङक यहाँ उल्लेख गरिएको छैन ।

कोरोनापछिको लकडाउन खुकुलो भएसँगै कम्पनीहरुको व्यवसाय पनि विस्तार हुँदै गएको छ । यसको प्रभाव उनीहरुले आर्जन गर्ने बीमा शुल्कमा देखिएको छ ।


क्लिकमान्डु