कोरोना बीमाः दावी भुक्तानी सातामा थप ४७२ जनाले पाए, करिब सवा २ अर्ब भुक्तानी बाँकी
काठमाडौं । गत वैशाख ६ गतेदेखि बीमा समितिले कोरोना बीमा नामक बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दियो ।
बीमा समितिले सस्तो लोकप्रियताका लागि संसारमै कहीँ नभएको महामारीको बीमा पोलीसी ल्याएको भन्दै आलोचना भइरहेको छ ।
तर समितिले भने गरिब जनतालाई राहत मिलोस र बीमा संकटको साथी होस् भन्ने आभाष दिलाउन यस्तो पोलीसी ल्याइएको बताउँदै आएको छ ।
संक्रमितको संख्या ह्वारह्वार्ती बढ्न थालेपछि अहिले उक्त पोलीसी बीमा समिति र कम्पनीहरुलाई निल्नु न ओकल्नु भएको छ ।
मंगलबार १७ लाख ८ हजार ३५६ जनाले कारोना बीमा गरिसकेका छन् ।
१७ लाख ८ हजार ३५६ जनाले कारोना बीमा गर्दा ९८ करोड ५८ लाख ८१ हजार १०८ रुपैयाँ मात्रै प्रिमियम संकलन भएको छ ।
२० वटा निर्जीवन बीमा कम्पनीले गरेको कोरोना बीमामा अहिलेसम्म जम्मा ३ हजार ९१४ जनाले मात्रै दाबी भुक्तानी पाएका छन् । ३ हजार ९१४ जनाले ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी लिएका छन् ।
गत बुधबारसम्म ३ हजार ४४२ जनाले दाबी भुक्तानी पाएका थिए । एक सातामा दाबी भुक्तानी पाउनेको संख्या ४७२ जना बढेको छ ।
कम्पनीहरुले कोरोना बीमाको नाममा ९८ करोड ५८ लाख ८१ हजार १०८ रुपैयाँ मात्रै प्रिमियम संकलन गर्दा २ अर्ब ५३ करोड ५० लाख रुपैयाँ दाबी परेको छ ।
बीमा समितिले कोरोना लाग्नेलाई दावी भुक्तानी गर्ने भनेर ५० हजार र १ लाख रुपैयाँको कोरोना बीमा पोलिसी जारी गरेको हो ।
तर मंगलबारसम्म २२ हजार २०८ जनाले दाबी भुक्तानी पाउन सकेका छैनन् । २० वटा निर्जीवन बीमा कम्पनीहरुले २२ हजार २०८ जनाको २ अर्ब १५ करोड ७८ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी नगरी रोकेर राखेका छन ।
कम्पनीहरुले दाबी भुक्तानी प्रकृया सुस्त गरेर र बीमा समितिले खासै चासो नदेखाएपछि अघिल्लो साता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोरोना बीमाको दाबी भुक्तानी गर्न निर्देशन दिएका थिए । मन्त्री पौडेलको निर्देशनपछि कोरोना बीमाको दाबी भुक्तानी केही सहज भएको छ ।