आयात घट्दा निर्यातमा वृद्धि, व्यापारघाटा १२.४९% कम



काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनामा आयात घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्याङ्क अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा १०.६२ प्रतिशतले आयात घटेको हो ।

विभागको तथ्याङ्क अनुसार गत आवको सोही अवधिमा ४ खर्ब ५० अर्ब २९ करोड ८९ लाख रुपैयाँको सामान आयात भएको थियो भने चालु आवको सोही अवधिमा आयात घटेर ४ खर्ब २ अर्ब ४९ करोड १ लाख रुपैयाँमा सीमित भएको हो ।

त्यसैगरी, गत वर्षको चार महिनाको अवधिको तुलनामा चालु आवमा निर्यातमा भने १०.८१ प्रतिशतले बढेको छ । विभागका तथ्याङ्क अनुसार गत वर्ष ३६ अर्ब २७ करोड ९० लाखको वस्तु निर्यात गरेको थियो । सोही अवधिमा चालु आवमा ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ ।

यस्तै, भन्सार विभागको तथ्याङ्क अनुसार व्यापार घाटा भने १२.४९ प्रतिशत र कुल विदेशी व्यापार ९.२ प्रतिशतले घटेको छ । त्यस्तै गत आवमा १२.४१ प्रतिशतले आयात/निर्यात अनुपात रहेकोमा चालु आव घटेर १०.०१ को अनुपात रहेको छ । गत आवको तुलनामा भने १९.३४ प्रतिशतले आयात÷निर्यातको अनुपात घटेको छ ।


क्लिकमान्डु