सेयर ब्रोकरले एकदिनमा बुझे ७ करोड कमिसन, नेप्से र धितोपत्र बोर्डका कर्मचारी मालामाल



काठमाडौं । सेयर बजारमा कारोबार रकमले दैनिक कारोबारमा आफ्नो रेकर्ड आफै ब्रेक गर्दै जाँदा त्यसको प्रत्यक्ष लाभ सेयर लगानीकर्तामात्रै नभएर ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डलाई पनि भएको छ ।

आइतबार सेयर बजारमा ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी रकमको कारोबार भएको हो । एकै दिन यति धेरै रकमको सेयर कारोबार हुँदा लगानीकर्ताले ७ करोड ५९ लाख ७४ हजार रुपैयाँको हाराहारीमा कमिशन तिरेका छन् । अहिले लगानीकर्ताले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । जसमा ५० हजारसम्मको कारोबार गर्दा ०.६, ५० हजार १ रुपैयाँ देखि ५ लाख सम्म ०.५५, ५ लाख १ रुपैयाँ देखि २० लाखसम्म ०.५, २० लाख १ रुपैयाँ देखि १ करोडसम्म ०.४५ र १ करोड १ रुपैयाँ भन्दा माथीको कारोबारमा ०.४ प्रतिशत कमिशन लाग्दछ ।

हामीले माथी उल्लेख गरेको रकम अनुमानित ०.५५ प्रतिशत कमिशन दरलाई आधार मानेको हो । यो अंक आवश्यकता अनुसार तलमाथी पनि हुनसक्छ । ब्रोकरले लगानीकर्ताबाट पाएको कमिशन सबै आफैले पाउने होइन । ब्रोकरले पाएको कमिशनको २० प्रतिशत अर्थात प्रति सय रुपैयाँमा २० रुपैयाँ नेप्सेलाई बुझाउनु पर्छ । त्यतीमात्र होइन लगानीकर्ताले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत धितोपत्र बोर्डलाई बुझाउनुपर्छ ।

यसरी हेर्दा आइतबारको कारोबारबाट यसर्थ हेर्दा नेप्सेले डेढ करोडको हाराहारीमा कमिशन जाने रहेछ भने सेबोनलाई २० लाखको हाराहारीमा कमिशन गएको देखिएको छ । यो रकम हामीले आधार मानेको प्रतिशत अनुसार हो । यो रकम बढी वा कम पनि हुनसक्छ ।

अहिले सेयर बजारमा कारोबार रकम निकै बढिरहेको छ । यो बेला ब्रोकर कमिशन घटाउनु पर्ने चर्को दबाब सुरु भएको छ । तर नियामक निकाय धितोपत्र बोर्डले त्यसतर्फ समयमा नै ध्यान नदिँदा ब्रोकर कमिशन घट्न सकेको छैन । यसअघि तिहार लगत्तै बोर्डले ब्रोकर कमिशन घटाउने भनेको थियो तर अहिलेसम्म कार्यान्वयन गर्न चासो देखाएको छैन । लगानीकर्ताका संगठनहरुले पटक पटक बोर्डलाई ब्रोकर कमिशन घटाउन हारगुहार गर्दै आएका छन् । तर बोर्डले अहिलेसम्म सरोकारवालासँग छलफल समेत गरेको छैन ।


क्लिकमान्डु