मन्त्री अर्यालले गृह जिल्ला पुगेर गरिन मालपोत कार्यालयलाई नमुना घोषणा



स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छिन् ।

मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गरेकी हुन् ।

मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताइन् । मालपोत र नापी कार्यालयको बिग्रीएको छबी बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउँदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको बताइन् ।

सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उनले त्यसका निम्ती नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताइन् ।

‘सिस्टमबाट नै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेर नै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छौ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो २/३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिनेगरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुबिधा दिएका छौ ।’

नमुना भन्दा २/४ ठाउँमा गर्ने भन्ने पनि हुनसक्ने भन्दै उनले यो सरकारको अभियान भएको भन्दै देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधीमैत्री सेवा पु¥याइने बताइन् ।

तर, यसका निम्ती दक्ष जनशक्तिको अभाव हुँदा अभियान प्रभावित उनको तर्क छ । ‘हामीले जुन प्रविधिको प्रयोग गर्न खोज्यौं त्यसका निम्ती दक्ष जनशक्तिको आवश्कता पर्छ । त्यो कुरामा हामीलाई दक्ष जनशक्तिको कसरी विकास गर्ने भन्ने कुरामा चुनौती छ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो एकढंगले कर्मचारीहरुको नियुक्ती भएका छन् । हामी अर्काे हिसाबले हिड्न खोजेका छौ । नयाँ खालको प्रविधिलाई प्रयोग गरेर सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्तिको संख्या हामीसँग कम छ । यो कुरा चुनौतीपूर्ण त छ । तर विज्ञताको बृद्धी गर्दै कर्मचारीहरुलाई दक्ष बनाउदै हामी अगाडि बढ्नुपर्छ ।’ कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटहरु रहेको भन्दै उनले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालले बेरोजगारलाई स्वःरोजगारमा परिणत गर्न भुमि बैंकको अवधारणा ल्याईएको बताइन् । भुमि बैंक मार्फत बाँझो खेतियोग्य जमिनको प्रयोग गरी उत्पादकत्व बृद्धि गरिने मन्त्री अर्यालले बताइन । ‘भुमि बैंक पुँजीपतीलाई पोस्नका निमित्त होईन । भुमि बैंकको प्रयोगले हाम्रा अधिकांश आवश्यकताहरु परिपुर्ति गर्छ’ उनले भनिन् ‘भुमिको उचित उपयोग गर्नुपर्ने, आधुनिक प्रणालीको अधिकतम प्रयोग गर्नुपर्ने छ ।’ उनले विकास, समृद्धि, लोकतन्त्र र शान्तिको स्थायित्व सरकारको लक्ष्य रहेको भन्दै उनले सामाजिक सद्भाव र राष्ट्रियता मुख्य मन्त्रका साथ सरकार अगाडि बढेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले यो अभियानलाई देशैभर फैलाउन सरकार लागिरहेको भन्दै यस अभियानमा साथ दिन आग्रह गरिन् । त्यस क्रममा मालपोत कार्यालय वालिङका प्रमुख रबीन अधिकारीले २०७५ असार ८ मा आशिष, सिद्धबाबा जेभीसँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएकोमा कोभिड-१९ संक्रमणका कारण पाँच महीना थप गरिएको मालपोत कार्यालय कूल ५ करोड ६ लाख २ हजार ३ सय ८४ को लागतमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । त्यस अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मानसमेत गरिएको थियो ।


क्लिकमान्डु