नेपाल एयरलाइन्सले सरकारी अस्पतालको मात्रै पीसीआर रिपोर्टलाई मान्यता दिने



काठमाडौं । नेपाल एयरलाइन्सले अब सरकारी अस्पतालको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ ।

नेपाल वायुसेवा निगमका महाप्रबन्ध डिमप्रकाश पौडेलले निजी ल्यावको पीसीआर रिपोर्टलाई मान्यता नदिने निर्णय गरिएको क्लिकमाण्डूलाई जानकारी दिए ।

‘हङकङ उडानमा गलत पीसीआर रिपोर्ट भएको भन्दै नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएसँगै निगमले अब उप्रान्त निजी ल्यावमा गरिएको कोरोना परीक्षणलाई मान्यता नदिने निर्णय गरिएको हो,’ उनले भने ।

यता एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले हाललाई हङकङ उडानको हकमा मात्रै सरकारी रिपोर्ट अनिवार्य गरिएको जानकारी दिइन ।

‘हङकङको हकमा गलत पीसीआर रिपोर्ट भएकाले पटक पटक प्रतिबन्ध भइसकेको छ, त्यसैले हाललाई उक्त गन्तव्यको हकमा सरकारी रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन् ।

हाल नेपाल एयरलाइन्सको उडान नोभेम्बर २१ सम्मका लागि हङकङ उडान प्रतिबन्धमा परेको छ ।

नेपाल एयरलाइन्सले गलत रिपोर्ट दिने स्टार अस्पताल, ह्याम्स अस्पताल, सेन्ट्रल डाइगोनेस्टिक सेन्टर र सुरिया ल्यावलाई कारबाहीका लागि पर्यटन र स्वास्थ्य मन्त्रालयलाई पत्र लेखि काराबाही गर्न माग गरिसकेको छ ।


क्लिकमान्डु