सेयर बजारमा रेकर्ड ब्रेक, यस्ता छन् बुल हुनाका कारण



काठमाडौं । पुँजी बजार यसअघिको कायम भएको हालसम्मकै उच्च १८८१ को विन्दु चुम्ने गतिमा लम्कन थालेको छ । कोरोनाले विश्वभर असर पारिरहेको समयमा नेपालको पुँजी बजार भने बुलिस ट्रेन्डमा देखिएको छ ।

कारोबार रकमका आधारमा भने पुँजी बजारमा नयाँ इतिहास कायम भएको छ । बिहीबार एकैदिन ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । जबकि यसअघि ४ अर्ब ८५ करोड रुपैयाँसम्म कारोबार भएको थियो ।

नेपालको पुँजी बजार अहिले बुलिस ट्रेन्डमा जानुको पछाडि झण्डै आधा दर्जन कारण रहेको जानकारहरुको तर्क छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । यतिबेला बैंक तथा वित्तीय संस्थाको लगानी अपेक्षाकृतरुपमा अन्यत्र जान सकेको छैन । उनीहरुले अहिले केही लगानी सेयर बजार तिर पनि गरिरहेका छन् । यतिबेला बैंकहरु फोन गरेर बोलाएरै सेयर धितोमा कर्जा दिने अवस्थामा पुगेका छन् ।

कोरोनाले अन्य लगानीका क्षेत्र कमजोर बन्दै जाँदा वा समयमा लगानी गर्न नसक्दा बैंकहरुले सेयर बजारमा लगानी बढाएका छन् ।

त्यसले पनि बजारले आफ्नो रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कामय गर्न सकेको जानकारहरुको तर्क छ । यसअघि अर्थमन्त्रालयको नेतृत्व गर्ने नेतृत्वकर्ताको कारण पनि बजारको विकासमा अवरोध भएको उनीहरुको तर्क छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको दोस्रो बजार अनुत्पादक क्षेत्र हो भनेर दिएको अभिव्यक्तिका कारण उनको कार्यकालभरी सेयर बजार पर्ख र हेरको अवस्थामा नै रहयो ।

तर जब मन्त्रालयको कार्यभार सम्हाल्न बिष्णुप्रसाद पौडेल आए, त्यसपछि बजारले गति लिन थालेको छ ।

मन्त्री पौडेले अर्थमन्त्री हुँदा बनेको यसअघिको रेकर्ड ब्रेक गर्नका लागि अब बजार १०४ अंकले बढे पुग्छ । यसअघि पौडेल मन्त्री भएको समयमा बजार १८८१ बिन्दुमा पुगेको थियो । आजसम्म १७७८.१२ बिन्दुमा पुगेको छ ।

मन्त्री पौडेल पुँजी बजारमैत्री भएको लगानीकर्ताको बुझाइ छ । जसले गर्दा पनि बजार बढेको चर्चा शुरु भएको छ ।

बजार बढ्नुको अर्को कारणको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको भ्याक्सिन बन्दै जाँदा विश्व सेयर बजारमा प्रभाव परेको र त्यसको कुनै न कुनै असर नेपालको सेयर बजारमा पनि देखिएको बताउन थालेको छ । जसको प्रभाव नेपालको पुँजी बजारमा पनि देखिएको छ ।

यता अहिले बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कोरोनाको बीचमा प्रकाशित वित्तीय विवरण धेरै निराशाजनक नभएको कारण पनि बजार बढ्न थालेको देखिन थालेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाको विवरण धेरै निराशाजनक नभएको र त्यसले पनि लगानीकर्ता उत्साहित देखिएको बताउन थालिएको छ । अहिले पुँजीबजार क्रमिकरुपमा बुलिस ट्रेन्डमा जान थालेको कारण बजारले गति लिने बताइन थालेको छ ।

बुलिस ट्रेन्डमा लागेको बजार तत्कालै घट्ने कुनै कारण नदेखिँदासम्म बजारमा निरासा नदेखिने बताउन थालिएको छ । यसरी बजार बढनुको अर्को कारणको रुपमा प्रविधिको प्रयोगलाई पनि लिन थालिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पुँजी बजाले यो रेकर्ड कायम गर्न प्रविधिले पनि साथ दिएका बताए ।

उनका अनुसार अहिले अनलाइन प्रणालीलाई लगानीकर्ताले विश्वास गरेर ८५ प्रतिशत हाराहारीमा अनलाइनबाटै कारोबार हुने गरेको बताए ।

‘स्वदेशी तथा विदेशमा रहेका अनलाइनमार्फत् लगानी गर्ने लगानीकर्ता, ब्रोकर कम्पनी, वाइको लगायत भेन्डर कम्पनी, नियामक निकाय, सरकार, नेप्से तथा सिडिएसका कर्मचारीको कारणले यो रेकर्ड कायम गर्न सम्भव भएको हो’ साउदले भने ‘यो बेला व्यक्तिगत, संस्थागत सबै लगानीकर्ता बधाइका पात्र हुनुहुन्छ ।’

शुरुका दिनमा लगानीकर्ताले अन्योलताका कारण अनलाइनको युजर पासवर्ड नलिएको भएपनि अहिले ८० प्रतिशतको हाराहारीमा अनलाइनको युजर र पासवर्ड लिएको उनको भनाइ छ ।

योसँगै लगानीकर्ता अनलाइन मैत्री हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर कारोबार गर्न सम्भव भएको उनको तर्क छ ।

ब्रोकरको कारण मात्रै सम्भव नभएको र प्रविधिले मारेको फड्को समेतका कारण कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको साउदको भनाइ छ । नेप्सेले बनाएको सिस्टमले बजारमा अझै उत्साह थप्दै जाने उनको दावी छ ।

बिहीबारको रेकर्डले पनि नेप्सेले ल्याएको सिस्टम अन्तर्राष्ट्रिय स्तरका भएको प्रमाणित भएको उनको दाबी छ ।

बिहीबार नेप्से मापन गर्ने सूचक ३६.३२ अंकले बढेर परिसूचक १७७८.१२ बिन्दुमा रोकिएको छ । जसमा १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक धेरै नबढेपनि अन्य ११ वटै समूहको उपसूचकमा निकै सुधार देखिएको छ । नौ वटा कम्पनी कारोबारमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु