कोरोना बीमाः २ अर्ब २२ करोडको दावी पर्दा ३१ करोड मात्रै भुक्तानी



काठमाडौं । गत वैशाख ६ गतेदेखि बीमा समितिले कोरोना बीमा नामक बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दियो ।

बीमा समितिले सस्तो लोकप्रियताका लागि संसारमै कहीँ नभएको महामारीको बीमा पोलीसी ल्याएको भन्दै आलोचना भइरहेको छ ।

तर समितिले भने गरिब जनतालाई राहत मिलोस र बीमा संकटको साथी होस् भन्ने आभाष दिलाउन यस्तो पोलीसी ल्याइएको बताउँदै आएको छ ।

संक्रमितको संख्या ह्वारह्वार्ती बढ्न थालेपछि अहिले उक्त पोलीसी बीमा समिति र कम्पनीहरुलाई निल्नु न ओकल्नु भएको छ ।

बुधबारसम्म १७ लाख ६ हजार ८५६ जनाले कारोना बीमा गरिसकेका छन् ।

१७ लाख ६ हजार ८५६ जनाले कारोना बीमा गर्दा ९८ करोड ४९ लाख ९० हजार ८०८ रुपैयाँ मात्रै प्रिमियम संकलन भएको छ ।

२० वटा निर्जीवन बीमा कम्पनीले गरेको कोरोना बीमामा अहिलेसम्म जम्मा ३ हजार ४४२ जनाले मात्रै दाबी भुक्तानी पाएका छन् । ३ हजार ४४२ जनाले ३१ करोड १३ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी लिइसकेका छन् ।

कम्पनीहरुले कोरोना बीमाको नाममा ९८ करोड ४९ लाख ९० हजार ८०८ रुपैयाँ मात्रै प्रिमियम संकलन गर्दा २ अर्ब २२ करोड ३४ लाख रुपैयाँ दाबी परेको छ ।

बीमा समितिले कोरोना लाग्नेलाई दावी भुक्तानी गर्ने भनेर ५० हजार र १ लाख रुपैयाँको कोरोना बीमा पोलिसी जारी गरेको हो ।

तर बुधबारसम्म १९ हजार ७११ जनाले दाबी भुक्तानी पाउन सकेका छैनन् । २० वटा निर्जीवन बीमा कम्पनीहरुले १९ हजार ७११ जनाको १ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी नगरी रोकेर राखेका छन् ।

कम्पनीहरुले दाबी भुक्तानी प्रकृया सुस्त गरेको र बीमा समितिले खासै चासो नदेखाएपछि अघिल्लो साता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोरोना बीमाको दाबी भुक्तानी गर्न निर्देशन दिएपछि कोरोना बीमाको दाबी भुक्तानी केही सहज भएको छ ।


क्लिकमान्डु