प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब ८९ करोड रकम स्थानीय तहलाई निकासा



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार श्रमिकलाई रोजगार उपलब्ध गराउनका लागि स्थानीय तहलाई ६ अर्ब ८९ करोड रुपैयाँ रकम निकासा गरेको छ ।

चालु आर्थिक वर्षमा २ लाख श्रमिकहरुलाई न्यूनतम १ सय दिनको रोजगारी ग्यारेन्टी दिने उद्घोष गरेको सरकारले १ लाख ३३ हजार ३ सय २७ श्रमिकहरुलाई १०० दिनको रोजगारी उपलब्ध गराउन उक्त रकम स्थानीय तहलाई निकासा गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ का लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचिकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराई रोजगारी उपलव्ध गराउने उद्देश्य लिएको छ ।

उक्त उद्देश्य अनुरुप रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा बेरोजगार व्यक्तिको संख्या प्रविष्टिको आधारमा रकमको बाँडफाँट गरी ५६९ स्थानीय तहमा ३ अर्ब बाँडफाँट गरी सशर्त अनुदान पठाइएको मन्त्रालयले जनाएको छ । उक्त ३ अर्ब रकमबाट ५८ हजार २७ जनाले रोजगारी पाउने लक्ष्य लिएको छ ।

सरकारले चालु आवको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको थियो । उक्त रकमबाट २ लाख विपन्न बेरोजगार युवाहरुलाई १ सय दिनको रोजगारी ग्यारेन्टी गर्ने सरकारको लक्ष्य छ ।


क्लिकमान्डु