बैदेशिक सहायता ४४४.८ प्रतिशतले बढ्यो



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र शिथिल भएको छ ।

यतिबेला कोरोनाको असर नेपालमा मात्रै नभएर विश्वमा नै परेको छ । तर कोरोनाकै बीचमा पनि नेपालमा आउने अन्तर्राष्ट्रिय सहायता भने ४४४.८ प्रतिशतले बढेको छ ।

अर्थमन्त्रालयका अनुसार आर्थिक २०७७/७८ को असोज महिनासम्ममा वैदेशिक सहायता ८५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १५ अर्ब ६७ करोड रुपैयाँ मात्रै रहेको थियो ।

मन्त्रालयका अनुसार उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता ७ अर्ब ९८ करोड र ७७ अर्ब ७२ करोड रुपैयाँ ऋण सहायता रहेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार उक्त सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा ६३ प्रतिशत, उर्जा क्षेत्रमा ३३ प्रतिशत, शिक्षा क्षेत्रमा २ प्रतिशत र पुनर्निर्माण र कोरोना नियन्त्रण तथा रोकथामका लागि क्रमशः १/१ प्रतिशत छ ।

वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्री भएको पहिलो पटक नै वैदेशिक ऋण लिने फाइलमा हस्ताक्षर गरेका थिए ।

मन्त्री पौडेलले विश्व बैंकबाट २० करोड डलर ऋण लिने फाइलमा हस्ताक्षर गरेका थिए ।

पछिल्लो पटक मन्त्री पौडेलले स्वीट्जरल्याण्ड सरकारसँग सडक, पुल निर्माणका लागि करिब १ अर्ब २६ करोड रुपैयाँ बराबरको प्राविधिक सहायता परिचालनको लागि सम्झौता भएको छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पनि वैदेशिक सहायतालाई निकै प्राथमिकता दिएका थिए । मन्त्री खतिवडाले धेरै नै वैदेशिक सहायताको लागि हस्ताक्षर गरेका छन् ।

मन्त्री खतिवडाले पनि विकास निर्माण, भौतिक÷ सडक पूर्वाधार, शिक्षा, उर्जाको क्षेत्रमा सहयोग लिने गरेका थिए । खतिवडा मन्त्रीबाट हटनुपुर्व विश्व बैंकसँग पनि सहयोग थप गरेका छन् ।

विश्व बैंकले खतिवडाको कार्यकालमा मात्रै नभएर अघिल्ला मन्त्रीहरुको कार्यकालमा पनि सहयोग गर्दै आएको थियो ।

पूर्वमन्त्री डा. खतिवडाले विश्व बैंकसँग सम्झौता भएको रणनैतिक सडक आयोजना हाल सम्मकै ठुलो एकल आयोजना रहेको र गत वर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना संम्झौता भई करिब १ अर्ब डलर थप प्रतिबद्धता गराएका छन् ।

त्यो मात्रै नभएर अन्य निकायहरुसँगको सम्झौतालाई पनि प्राथमिकता दिएका थिए । नेपाललाई सहायता दिने देशहरुले सडक तथा सुशासन, उर्जा, शिक्षा क्षेत्रमा सहायता बढाएपनि पुनर्निर्माण र कोरोना नियन्त्रण तथा रोकथामका लागि भने अन्यको तुलनामा कम सहयोग गरेका छन् ।


क्लिकमान्डु