विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गरिने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन विमानस्थलभित्र निर्मित सुरक्षा गार्ड भवनको समुउद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनुका लागि गृह, अर्थ, रक्षा र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको जानकारी दिए ।

उनले हाल मूलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समयभित्रै पोखरा र भैरहवा विमानस्थल अन्तराष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाईएको बताए ।

उनले एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्यधिक चाप हुने गरेकाले सबै मानिसहरु सफा नियतले मात्रै आउँछन् भन्ने नभएको बताउदै लागू औषधको ओसारपसार, अन्तराष्ट्रिय आपरिक संगठनमा आवद्ध व्यक्तिहरुको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरु हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने दावी समेत गरे ।

‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ’ मन्त्री भट्टराईले भने, ‘विमानस्थलमा राम्रो मात्रै नियत बोकर मानिसहरु आएका हुँदैनन्, अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग संगठित भएकाहरु पनि आवतजात गर्ने सम्भावना रहन्छ, लागू औषध ओसारपसारका कुरा उठिरहेका छ । त्यसैले विमानस्थलको सुरक्षाको विषय चूनौती पनि हो, यसकारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ,’ मन्त्री भट्टराईले भने ।

उनले सुविधा सम्पन्न प्रहरी सुरक्षा भवन बनेकाेमा खुशी ब्यक्त गर्दै यसले प्रहरीमा थप जिम्मेवारी, सक्रियता तथा लगनशीलता बृद्वि हुने विश्वास ब्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकरणका महानिर्देशक राजन पाेखरलले लकडाउनकाे समयमा पनि विमानस्थलमा दुईवटा वाईडबढी जहाज अटने पाकिङ,टयाक्सी पाकिङ,रनवे विस्तार लगायतका काम गरेकाे जानकारी गराउदै विमानस्थलको गुरुयाेजना पूनरावलाेकन भईरहेकाे बताए ।

अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ । तीन सय ५० जनाकाे क्षमता भएकाे तीन तले भवन ७ करोड १५ लाख १७ हजार ६०५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएकाे हाे ।


क्लिकमान्डु