लुक्ला एयरपोर्ट बुटिक एयरपोर्टको रुपमा विकसित हुन्छः मन्त्री भट्टराई



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताएका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना केन्द्रको भवन समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताए । उनले त्यसको लागि नागरिक उडड्यन प्राधिकरणलाई लागत तयार गर्न निर्देशन दिए ।

मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउँदै त्यसको लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने र आधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणले गर्ने प्रस्ट पारे । उनले एयरपोर्ट सुरक्षामा दिनु पर्ने बताउदै एक्से मेसिन लगेज बेल्टको प्रस्ताव पठाएमा बजेटको ब्यवस्था गरिदिने बचन दिए ।

मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज, हिमाल, जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकोले सुचना केन्द्र आवश्यक रहेको बताए । उनले सगरमाथा क्षेत्र,शेर्पा संस्कृति जानकारी ऐतिहासिकता,टेकिङ रुट तथा पर्यटकिय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास ब्यत्त गरे ।

मन्त्री भट्टराईले आर्थिक समृद्धिको लागि उत्पादनमा जोड दिन आग्रह गर्दै किबी स्याउ, पशुपालन लाग्न सो क्षेत्रका बासिन्दाहरुलाई अनुरोध गरे ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भबनको उचित प्रयोग गरी पर्यटन सम्बन्धि सूचना दिने उपयोगी बनाउन आग्रह गर्दै नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्यन थालिएको बताए ।

खुम्बुगाउँ पालिकाका कार्यबाहक अध्यक्ष टाँसील्हामु शेर्पाले मन्त्रीको पटक पटकको ताकेता मात्रै समयमै भवन निर्माण दाबी गर्दै विमानस्थल थप ब्यवस्थित बनाउन माग समेत गरे । सूचना केन्द्र ३ करोड ६३ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।


क्लिकमान्डु