घुम्न जाँदै हुनुहुन्छ ? यी रिसोर्टमा बस्न कति खर्च लाग्छ ?



काठमाडौं । कोरोनाको महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रिन थालेको छ । विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटनले खुलेका पर्यटकीय गन्तव्य गुल्जार बन्दै गएका छन् ।

विशेष गरी दशैं र तिहार जस्ता चाड पर्वको विदाको आसपासमा नेपालमा आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ ।

यही मेसोमा विभिन्न पर्यटकीय गन्तव्यका होटल तथा रिसोर्टहरुले पर्यटकलाई आकर्षित गर्नका लागि प्याकेज तथा छुटको अफर ल्याएका छन् । जसमध्ये केही राम्रा भनिने रिसोर्ट तथा होटलका बारेमा जानकारी दिँदैछौं ।

१.द्वारिका रिसोर्ट धुलिखेल

द्वारिका रिसोर्ट धुलिखेलमा २ जनाका लागि ३९ हजार ६०० रुपैयाँदेखि ३२ सय डलर अर्थात् ३ लाख ८४ हजार रुपैयाँको प्याकेज उपलब्ध गराएको छ । जसमा ब्रेकफास्ट र डिनर समेटिएको छ भने तपाईंले योगा र मेडिटेसनका साथै विभिन्न क्रियाकलापहरु गर्न पाउनु हुनेछ ।

रिसोर्टमा जाँदा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु भने पालना गर्नुपर्ने छ । रिसोर्टमा सबैभन्दा सस्तो प्याकेज ३९६०० रुपैयाँको छ भने एक्जुकेटिभ विथ टेरेसको ६१६०० रुपैयाँ, प्रेसिडेन्सियल स्वीट रुपको २२०० डलर र रोयल स्वीट रुपको ३२०० डलर मूल्य तोकिएको छ ।

२. रुपाकोट रिसोर्ट

पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको रुपाकोटमा बसेको यो रुपाकोट रिसोर्ट घुम्न जाने पर्यटकका लागि सबैभन्दा राम्रो र उपयुक्त ठाउँ हो । रुपा र बेगनास तालको ठ्याक्कै सिरानमा रहेको यो रिसोर्टबाट सुर्योदय र सुर्यास्त मात्रै होइन, लहरै हिम श्रृंखलाको मनोरम दृश्य पनि देख्न सकिन्छ ।

हाल रिसोर्टले आकर्षक प्याकेज ल्याएको छ । जसमा २ जनाका लागि एक रातको ११ हजार रुपैयाँ मूल्य तोकिएको रिसोर्टका सञ्चालक पुष्प अधिकारीले जानकारी दिए । उक्त प्याकेजमा २ जनाले ब्रेकफास्ट, लञ्च समेटिएको छ । त्यसबाहेक स्वीमिङ तथा अन्य सुविधाहरु पनि प्याकेजमा समेटिएको छ ।

३. मेगौली सेराइ रिसोर्ट

चौधरी ग्रुपको लगानी रहेको चितवनको मेगौली सेराइ रिसोर्ट पनि सुविधासम्पन्न लक्जरी रिसोर्ट हो ।

राप्ती नदिको किनारामा रहेको यो रिसोर्ट अत्याधुनिक सेवा सुविधाले सम्पन्न रिसोर्ट हो । यस रिसोर्टमा एक दिन बस्नका लागि २ सय डलरदेखि ३ सय डलरसम्म खर्च गर्नुपर्छ ।

४. साराङकोट माउन्टेन रिसोर्ट

कास्कीको साराङकोटामा रहेको साराङकोट माउन्टेन रिसोर्टमा मनोरम दृश्य अवलोकन गर्नका लागि उपयुक्त गन्तव्य हो । रिसोर्टबाट सुर्योदय र सुर्यास्तको सुन्दर दृश्य हेर्न तथा हिमश्रृंखला हेर्न पाइन्छ ।

रिसोर्टमा २ जनाका लागि एक दिनको ब्रेकफास्ट सहित ८ हजार रुपैयाँ पर्छ । कोठामा ३ जना बस्ने हो भने १२ हजार रुपैयाँ पर्छ । जसमा डिनर भने समावेश गरिएको छैन ।

५. होटल मिस्टिक माउन्टेन

काठमाडौंदेखि नजिकै रहेको नगरकोटमा अवस्थित होटल मिस्टिक माउन्टेन पनि बस्नका लागि राम्रो रिसोर्ट हो ।

अत्यधिक सुविधा सम्पन्न यस रिसोर्टमा एक रात बस्नका लागि ११ हजार रुपैयाँ खर्च लाग्छ । रिसोर्टबाट प्राकृतिक सुन्दरता नियाल्न सकिन्छ ।


क्लिकमान्डु