सडक तथा पुल निर्माण गर्न स्वीट्जरल्याण्डसँग सवा अर्बको सम्झौता
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटमा नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच सडक तथा पुल निर्माण परियोजनाको लागि करिब १ अर्ब २६ करोड रुपैयाँको प्राविधिक सहायता परिचालन गर्न द्बिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारकातर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेका छन् ।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोश्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गरे ।
देशको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको विषय औल्याइन ।
साथै प्रधानमन्त्रीले सारेको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरिन ।
उनले संघीयता कार्यान्वयनमा नेपालले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएकोमा खुशी व्यक्त गरिन ।
कोभिड-१९ को महामारी नियन्त्रणमा स्वीस सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्बता समेत व्यक्त गरिन ।