अर्थ मन्त्रालयले हटायाे विदेशी पुस्तक, पत्रिकाको पैठारीमा लाग्ने भन्सार महसुल



काठमाडौं । अर्थ मन्त्रालयले विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल हटाएको छ ।

पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै मन्त्रालयले उक्त निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाली प्रकाशन गृहबाट प्रकाशित पुस्तक विदेशबाट छपाई गरी पैठारी गरेमा साबिक बमोजिमको १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले यसबाट नेपाली प्रकाशन गृहबाट प्रकाशन हुने पुस्तक नेपालमा नै छपाई हुने र नेपालमा रहेका मुद्रण उद्योगको संरक्षण तथा प्रवर्द्धन गर्न सघाउ पुग्ने बताए ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले आर्थिक ऐन, २०७७ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा आर्थिक ऐन, २०७७ बमोजिम लाग्दै आएको भन्सार महसुल पूर्ण रुपमा छुट दिने निर्णय गरेको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार आर्थिक ऐन, २०७५ ले नेपाली प्रकाशक, वितरक वा सोल एजेण्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा त्यसरी पैठारी भएको पुस्तकको छपाई मूल्य (कागज, मुद्रणमा लागेको खर्च, भाडा र बीमा जोडी हुन आउने मूल्य) मा १५ प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्रकाशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक ऐन, २०७६ बाट स्वदेशी वा विदेशी जुनसुकै प्रकाशकको नाम उल्लेख भएर पैठारी हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो । सो व्यवस्थालाई आर्थिक ऐन, २०७७ ले निरन्तरता दिएको हो ।


क्लिकमान्डु