चाडबाडमा अखाध्य मिठाइको बिगबिगीः रङ्ग मिसाउने, म्याद गुज्रिएका सामान बेच्ने पसललाई २ लाख जरिवाना
काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेट्टाएको थियो ।
अनुगमनको नेतृत्व गरेका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार तिहारमा प्रयोग हुने भाइ मसलाको मूल्यमा एकरुपता देखिएको छैन । मिठाइ र फलफूलको गुणस्तर र मूल्यमा पनि निगरानी गर्नुपर्नेछ । यसलाई नियमित र आकस्मिक अनुगमनबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ । बजार नियमनका लागि महानगरले आफ्नै ऐन तर्जुमा गरिरहेको छ । ऐन जारी भएपछि अनुगमनको काम थप प्रभावकारी हुनेछ ।
नयाँ सडक काठमाडौंको प्रमुख व्यापारिक ठाउँ हो । ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइएको छ । निरीक्षण अधिकृत भवानीकुमारी खतिवडाका अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेकोले स्वस्तिकलाई २ लाख रुपैयाँ आर्थिक जरिवानासहित सुधारका लागि सुझाव दिएको हो ।
यस्तै कालीमाटीमा सञ्चालित वीणा टे«डिङ् कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको उनको भनाइ छ ।
तिहारमा प्रयोग हुने मसला, मिठाइ र फलफूलको गुणस्तर र मूल्यमा देखिएको अवस्थाबाट उपभोक्ताले गुणस्तरीय बस्तु र सेवामा सहज पहुँच पाउनु पर्ने अधिकार कार्यान्वयनमा समस्या देखिएको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार संविधानको धारा ४४ ‘क’ ले हरेक नागरिकलाई आफूले प्रयोग गर्ने बस्तु र सेवाको गुणस्तरमा सहज पहुँच पाउने अधिकारको व्यवस्था गरेको बताए ।
अनुगमनको विवरण दिँदै उनले मिठाइ पसलको भण्डारमा म्याद सकिएका मसलाका प्याकेट, रङ्का वोतल भेटिएको बताए । ‘भान्सा कोठामा टाइल लगाइएको छ । तर, भुइँमा बसेर काम गर्दा खुट्टाको फोहोर पर्ने खतरा छ । कामदारले मास्क र पञ्जाको उचित प्रयोग गरेको देखिएन,’ उनले भने ।