चलचित्रको काम रोकेर कलाकार दीपकराज गिरीले ५ करोडमा कृषि फार्म शुरु गर्दै



काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र निर्माणको काम १ वर्षलाई थाँती राख्दै चन्द्रागिरीमा कृषि फार्म शुरु गर्न लागेका छन् ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि चलचित्र क्षेत्र बन्द छ । अझ कति समयसम्म अवस्था यथावत नै रहन्छ भन्ने यकिन छैन । त्यसैले कलाकार गिरीले वैकल्पिक पेशा अपनाएको बताए ।

‘सिनेमा भिडले चल्ने भयो, तर कोरोनामा भिड हुनु भएन, त्यसैले कोरोनाले अन्य कुनै पेशा अपनाउन सन्देश दिए जस्तो लाग्यो,’ क्लिकमाण्डुसँग कुरा गर्दै गिरीले भने ।

गिरीले शुरु गर्न लागेको कृषि फार्म पहिलेको दहचोक गाविस र हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर १ मा पर्छ । यो ठाउँ थानकोटको पछाडि पर्छ ।

पुर्खर्यौली सम्पत्ति १२÷१३ रोपनी जति छ, त्यसबाहेक दाजुभाइहरुको सम्पत्ति र थप केही जग्गा खरिद गरेर कृषि फार्म शुरु गर्न लागेको उनले जानकारी दिए ।

विगत ३ महिनादेखि कृषि फार्मको काममा व्यस्त भएका गिरीले १ वर्षका लागि चलचित्र निर्माणको काम भने थाँती राख्ने बताए ।

‘अहिले चलचित्रको अवस्था पनि कोरोनाका कारण राम्रो छैन, त्यसमाथि कृषि फार्म निर्माणको काममा लागेको छु, त्यसैले १ वर्षसम्म चलचित्रको काम गर्दिन,’ उनले भने ।

तर १ वर्षपछि कृषि फार्म निर्माणको कामले पनि एउटा स्वरुप लिएपछि चलचित्रको काम पनि सँगै गर्न सकिने उनले बताए ।

हाल कलाकार गिरीको एकल लगानी रहेको कृषि फार्ममा भोलिका दिनमा थप लगानीकर्ता पनि थपिन सक्ने सम्भावना पनि रहेको उनले जानकारी दिए ।

‘चलचित्र निर्माणमा पनि सबैलाई साथमा लिएर सहकारी मोडलबाट काम गरेका थियौं, यसमा पनि त्यो नहोला भन्न सकिन्न,’ गिरीले भने ।

गिरीका अनुसार कृषि फार्ममा ३० वटा स–साना घर निर्माण गरिनेछ । जसमा प्रत्येक घरमा ७÷८ जनासम्म बस्न मिल्नेछ । साथै फार्ममा १५० जना अट्ने सभाहल निर्माण गरिनेछ । जसमा सभा, सेमिनारलगायतका कार्यक्रम आयोजना गर्न सकिनेछ । त्यसबाहेकको १ बिगाहा जग्गामा कृषिको काम हुनेछ ।

‘हाम्रा पुर्खाहरुको पेशा कृषि नै हो, त्यसैले पनि मलाई बैकिल्पक पेशा रोज्नका लागि सहज भयो,’ उनले भने, ‘यो कृषि फार्मलाई पर्यटनसँग जोडेर विकास गरिने छ ।’

उनका अनुसार कृषि फार्म निर्माणको काम सकिने २ वर्ष लाग्ने अनुमान गरिएको छ । जसमा हाल भवनहरुको नक्सा बनाउने र निर्माण शुरु गर्ने प्रक्रिया शुरु भइसकेको गिरीले जानकारी दिए ।

कृषि फार्ममा सिर्जना हुने रोजगारीमा स्थानीय र युवालाई विशेष प्राथमिकता दिने पनि उनले बताए ।

‘यो पैसा कमाउने भन्दा पनि कृषि र पर्यटनसँगै रोजगारीमा पनि केही सहयोग हुन्छ कि भन्ने मुख्य उद्देश्य हो,’ उनले भने ।

कलाकार गिरी र उनको टिमले निर्माण गर्ने ‘छक्का पञ्जा’ सिरिजका चलचित्र व्यवसायिकरुपमा अत्यधिक सफल चलचित्र हुन् । कोरोना महामारी नभएको भए यही दशैंमा उनको उक्त सिरिज अन्तर्गतको पछिल्लो चलचित्र रिलिज हुने थियो ।

हाल चलचित्र ठप्प रहेको अवस्थामा चलचित्रकर्मीहरु सरकारले यातायात, होटल तथा रेष्टुराँ जस्तै यो क्षेत्र पनि सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आएका छन् ।

कोरोनाका कारण ५६ वटा चलचित्रको काम रोकिएको छ । जसमध्ये २६ वटा चलचित्र रिलिजको तयारीमा छन् भने बाँकी ३० वटा चलचित्रको काम आधामा रोकिएको छ ।


क्लिकमान्डु