सफलताको कथाः तराईका दलित दिपेन्द्रकुमारले नेपाल बैंकको जागिरमा नाम निकाल्न गरेको संघर्ष

दिलु कार्की २०७७ कार्तिक २५ गते ११:१५ मा प्रकाशित

काठमाडौं । नेपालमा पहुँच नहुने, आम मानिसका लागि सरकारी जागिर पाउनु आकाशको फल आँखा तरी मर भने जस्तै छ ।

राम्रो पढाइ लेखाई भएपनि पहुँच नभएपछि सामान्य मानिसले राम्रो रोजगारीको अवसर खोज्नु पनि अपराध नै गरे जस्तो हुन थालेको छ । राज्यले आफूलाई समाजवादी बताउँछ । तर व्यवहारमा भने त्यस्तो देखिँदैन ।

सरकारी जागिरे हुन पद अनुसारको शैक्षिक योग्यता पुरा हुनु पर्ने त छँदै छ । भनसुन नभएकै कारण सरकारी निकायको भर्ना छनौटमा फालिएका युवाले कि त खाडी मुलुकका लागि राहादानी बनाउन कुद्नुपर्छ, या त निराश भएर बस्नुपर्छ ।

सामाजिक रुपमा आजपनि सरकारी जागिरलाई आफ्नो मेहनतसँगै भनसुनबाटै प्राप्ति हुने सोच छ । लिखित परीक्षामा राम्रो अंक ल्याएका योग्य उम्मेदवार अन्तर्वार्तामा फालिने गरेका छन् ।

सरकारी जागिरको आवेदन खुलाउँदा खुल्लासँगै, महिला, गरिब, दलित, जनजाति गरी विभिन्न कोटा छुट्याएर आवेदन माग गर्ने गरिन्छ । नेपालको संविधानले नै निश्चित प्रतिशत कोटा तोकिदिएको छ ।

संविधानले नै दिएको कोटामा समेत अन्तर्वार्ताका क्रममा कतिपय परिक्षार्थीले अयोग्य हुनु परेको तितो सत्य हामीले देखेका छौँ ।

समाजमा सरकारी जागिर पहुँचवालाहरुका लागि मात्र हो भन्ने छाप बस्दै गएका बेला तराईका दलित समुदायका दिपेन्द्रकुमार रामले नेपाल बैंकको सहायक चौथोमा नाम निकाल्न सफल भएका छन् ।

सरकारी बैंकहरुमा पटक–पटक जागिरे हुने प्रयास गरेपछि उनले पछिल्लो पटक नेपाल बैंकले खुलाएको सहायक चौथोमा नाम निकालेका हुन् ।

शिक्षाले नै समाजमा दलित र गरिबलाई उच्च सम्मान र स्थान दिन्छ भनेर मेहनत गरेका दिपेन्द्र मधेसी समुदायका हुन् । नेपाल बैंकको सहायक चौथोमा नाम प्रकाशित भएसँगै उनलाई आफैंप्रति विश्वास बढेर गएको छ ।

हार नखाइ प्रयास गर्ने हो भने सफलता प्राप्त गर्न न त उच्च जाती, न भनसुनै चाहिन्छ भन्ने उदाहरण पनि उनी बनेका छन् ।

प्रदेश २ अन्तर्गत सप्तरी जिल्लाको उत्तर पश्चिमवर्ती सुरुङ्गा नगरपालिका ४ कनकपुर गाउँमा २०४८ मंसिर २ गते झमेली राम र ठकनीवती रामको पाँचौ सन्तानको रुपमा जन्मिएका रामको बाल्यकाल गरिबी र अभावमै बित्यो । मिठो खाने र राम्रो लगाउने उनका लागि परदेशको कथा जस्तै थियो ।

गरिबी, अभावले ग्रस्त परिवारका लागि ठूलो कुरा सोच्नु पूरा नहुने एउटा सपनाको कथा जस्तै थियो ।

जातिय भेदभाव र गरिबीको पिडाको चपेटामा परेको उनको बाल्यकालको कथा तराईका आम गरिबको भन्दा फरक छैन । एक छाक खान नै धौ धौ रहेको उनको परिवारका लागि सन्तानको शिक्षा दिक्षा समेत परको कुरा थियो ।

रेडियोमा आउने निशुल्क शिक्षा र सबैका लागि शिक्षा भन्ने नारा उनको परिवारका लागि गिज्याए जस्तो लाग्थ्यो । सोही कारण दुःखजिलो गरेरै भएपनि उनको माता पीताले ७ वर्षको उमेरमा गाउँको आधारभूत विद्यालयमा भर्ना गरिदिएका थिए ।

गरिबी, आर्थिक अभाव त राम परिवारका लागि उस्तै उस्तै न थियो । त्यसमा पनि कथित अछूतको बिल्ला भिराएर गरिएको छि छि र दूर दूरले दिने पीडा उस्तै थियो ।

सामाजिक चलन भन्दै अपमान, र तिरस्कारको पीडा महादेवले कालकुट विष पिए जस्तै पिउन वाध्य थिए ।

आफ्नै उमेरका साथी किताब बोकेर विद्यालय गएको टुलुटुलु हेर्न बाध्य उनी भने गाउँमा कृषि मजदुरी गर्ने बाबुको अघिपछि गर्दै ठिक्क थियो ।

भोको पेटमा पटुका कसेर भएपनि कान्छो छोरोलाई पढाउँछौं भनेर उनका बाबुआमाले अठोट लिए । सोही अठोटले उनले ७ वर्षको उमेरमा गाउँको विद्यालयमा भर्ना हुन पाए ।

परिवारमा ७ छोराछोरीसहित ९ जनाका लागि हातमुख जोर्न बाबुआमाले गरेको दुःख र गाउँमा जातीय कारणले भोगेको अपमान सम्झिएर उनी भक्कान्थिे ।

‘शिक्षाले नै हाम्रो गरिबी र पुस्तौदेखिको जातिय विभेद हटाउन सक्छ भन्ने मलाई सानैदेखि लाग्थ्यो, त्यसैले धेरै पढेर सरकारी जागिरे हुने चाहना बाल्यकालकै हो,’ रामले आफ्ना बाल्यकालका तितो अनुभव सुनाए ।

‘मेरो लागि आवश्यक किताब कलम र विद्यालयको पोशाक खरिद गर्नपनि बुबा आमाले धेरै अतिरिक्त मजदुरी गर्नु हुन्थ्यो, पछि मैलेपनि विद्यालय पछिका समय आफूले सकेको काम गरेर पढाइका लागि पैसा जम्मा गर्न थालेँ,’ उनले थपे ।

गाउँकै विद्यालयमा आधारभूत तहको अध्ययन पूरा गरेपछि कक्षा ६ भन्दा माथिको अध्ययनको लागि छिमेकी गाउँ कुशाहास्थित मसिलाल जनता माविमा भर्ना भए ।

‘गाउँबाट करिब ४ किलोमिटरको दूरीमा रहेको विद्यालय जान आउन गाउँका साथीहरु साइकल चढ्थे,’ विगत सम्झिँदै उनले भने ‘बाबुसँग साइकल किन्ने रकम नहुँदा म भने गाउँबाट खेतको आली आली हिंड्दै विद्यालय जाने आउने गर्थें, यसरी पैदल नै विद्यालय जाँदा कतिपय अवस्थामा परीषामा समेत ढिला पुगेको छु,’ उनले आफना ती दिन सम्झदै भने ।

कदमाहा गाईघाट सडक खण्डसँगै जोडिएको कनकपुर गाउँमा १ हजार ३ सय ५० घरधुरी छ । त्यसमा ३ सय ५० दलितहरुको घरमध्ये एक रामको परिवारको हो ।

‘अशिक्षा, जातीय छुवाछूत र सामाजिक विभेदका कारणले मान्छेको कोटीमा नगनिने दलितहरुलाई पढ्न त्यति सजिलो कहाँ थियो र ?’ भावुक हुँदै उनले भने, ‘मेरै उमेरका साथीहरु मजदुरी गर्न भारत र खाडी मुलुक जाने लहर चलेको बेला मैले दुःख गरेर भएपनि आफ्नोे मेहनतका कारणले आज यो ठाउँसम्म आउन सकेँ ।’

परिवारमा आर्थिक अभाव र दलितको नाममा गरिने अपमानका कारण भविष्य खोज्न भारत जाने सोच मनमा उनलाई पनि नआएको होइन । त्यस्तो सोचले परिवारको गरिबी र समाजमा जातिय विभेद नहटाउने सम्झन्दै आफ्नो उद्देश्यमा अटल रहे र मेहनत गरे ।

प्रवेशिका परीक्षाको समयमा सँगै पढ्ने साथी विद्यालयको पढाईका अतिरिक्त ट्युसन पढ्थे । तर उनी भने एसएलसी दिनुअघिसम्म गाउँका बाबालिकाहरुलाई ट्युसन पठाउँथे र आफ्नो पढाइ र परिवारको खर्च जोहो गर्थे ।

पछिल्ला पुस्तामा जातिय विभेद विस्तारै कम भएको छ, तर तराईमा कम हुन अझै लामो समय लाग्छ । आफ्नै उमेरका साथीभाइबाट फुटबल खेल्दा समेत दलित भन्दै कुटाई खाएको तितो अनुभव पनि उनको छ ।

‘सुखलाही खोला किनारमा हरेक दिन साँझ प्रायः फुटबल खेल्थ्यौं,’ रामले सुनाए ‘२०६२ सालतिर आफूभन्दा माथिल्लो उमेर समूहको दलित र गैरदलित किशोरको विवादको क्रममा मैले कुटाई खानु पर्यो ।’

गरिबीको कारणले बाबुआमाले झेलेको दुःख, कथित अछुत भन्दै खेपेको तिरस्कार अनि कृषि मजदुरी गर्ने बाबुआमाको दुःखलाई नजिकबाट बुझेका उनी कडा मेहनतले सफलताको एउटा शिखर चुम्न सफल भएका छन् ।

उनले कुसहास्थित मसिलाल विद्यालयबाट २०६४ सालमा प्रथम श्रेणीमा प्रवेशिका परिक्षा उत्तिर्ण गरे । त्यसको तीन वर्षपछि सोही विद्यालयबाट दोस्रो श्रेणीमा व्यवस्थापन विषयमा प्लस टु गरे । त्यसको एक वर्षपछि २०६८ सालदेखि गाउँकै सामुदायिक संस्था जनचेतना दलित संगममा सहायक लेखापालको काम थाले ।

काम गर्दै पढ्दै गरेका उनले आफ्नो स्वअध्ययनले २०७१ सालमा लहानस्थित सफटेक कलेजबाट व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण गरे । २०७२ सालमा विवाह गरेका उनको हाल एक छोरा, एक छोरी छन् ।

गाउँको सामुदायिक संस्थामा सहायक लेखापालको रुपमा काम थालेसँगै सरकारी स्वामित्वको बैंकको कर्मचारी बन्ने सपना पुरा गर्न अध्ययन र परीक्षाको तयारीलाई निरन्तरता दिए ।

‘आर्थिक अवस्था बलियो हुनेहरु शहर बजारमा बसेर परीक्षाको तयारी गर्थे’ परीक्षाको तयारीको बारेमा उनले सुनाए ‘घर, परिवार बालबच्चा समेतको दायित्व आफ्नो काँधमा भएकाले मैले भने घरमै बसेर राम्रो तयारी गरें ।’

नेपाल बैंक लिमिटेडले प्रकाशित गरेको विज्ञापनमा २०७४ सालमा पहिलोपल्ट सहायक चौथोमा परीक्षा दिएपनि अनुभव, आवश्यक तयारी नपुग्दा सफल हुन नसकेको उनले सुनाए ।

‘नेपालीमा एउटा उखान छ, चरेस खाएपनि हरेस नखानु । राम्रो तयारी गरेर राष्ट्रिय बाणिज्य बैंकका सहायक चौथोको लागि लोक सेवा आयोगले लिएको परीक्षा दिए, लिखितमा नाम निस्के पनि अन्तरवार्तामा फालिए ।’

त्यसपछि २०७६ सालमा नेपाल बैंकको चौथो तहका लागि लिएको परीक्षामा खुला उम्मेदवारको रुपमा तेस्रो नम्बरमा उनी छनौट हुन सफल भए ।

‘दोस्रो पटक अन्तर्वार्तामा पुगेर पनि फालिएकाले होला धेरैले पछिल्लो पटक अतिरिक्त मेहनत नगर, आशा नगर भन्थ्ये,’ राम आफूले नेपाल बैंकको सहायक चौथो पदका लागि गरेको संघर्षको अनुभव सुनाउँछन् ।

‘अन्तर्वार्ताका लागि केही अनलाईन कक्षा पनि लिए । धेरै त स्थानिय जानकारसँग नै उनीहरुको अनुभवबाट सिके ।

‘अन्तर्वार्ताको सूची प्रकाशित हुँदा मैले अठोट गरेको थिए कि यो पटक भने जसरी भएपनि नाम निकाल्छु भनेर,’ उनले सुनाए ।

अठोट पक्का र उदेश्य सच्चा भए त्यो सकार हुने राम बताउँछन् ।

‘अन्तर्वार्ता लिदा सरहरुले मलाई प्रश्न गर्दै भन्नु भएको थियो– लिखितमा नाम निस्किँदैमा नाम निस्किन्छ भनेर ढुक्क नहुनुहोस् भाई, जे पनि हुनसक्छ,’ तर मैले उहाँहरुलाई नआत्तिएर शतप्रतिशत अन्तरवार्ता पास गर्न सक्छु भनेको स्मरण गरे उनले ।

मेरो व्यक्तिगत योग्यताका बारेमा उहाँहरुले सोधेको जिज्ञासामा मैले भनेको थिए– सहायक चौथो पदमा नेपाल बैंकले तोकेको न्यूनतम योग्यता पूरा गरेको छु ।

अन्तर्वार्ता दिएर घर फर्किएपनि उनको मनमा नाम निस्किएला कि ननिस्किएला भन्ने प्रश्नले घर गरिरहेको थियो । तर अन्तर्वार्ताको नजिता प्रकाशन हुँदा उनको नाम ३ नम्बरमा नै थियो । त्यो देखेर म आफैलाई यत्ति धेरै खुसी लाग्यो कि के यो सपना त होइन ?

सुरुङ्गा नगरपालिका ४ कनकपुर गाउँको दलित समुदायवाट लोक सेवा उत्तीर्ण गरी सरकारी जागिरमा जाने दिपेन्द्र नै पहिलो हुन् ।

नेपाल बैंकमा सहायक चौथोमा नाम निकालेपछि उनलाई समुदायका अग्रजहरुले सम्मान समेत गरे ।

राम जातीलाई दलित र यादव जातीलाई उच्च मानिने मधेसी समुदायमा उनले जस्तै अन्य दलित युवाले मेहनत गरेर जातिय विभेदलाई बिस्तारै हटाउनु पर्ने उनको भनाइ छ ।

विशेषगरी तराईका दलित समुदायका मानिस गणतन्त्र कालमा पनि सरकारी निकायमा कमै छन् । त्यसको कारण भनेकै पहिलो नम्बरमा शिक्षा नै हो । त्यसपछि शक्ति र प्रभाव अनि नेपाली समाजमा व्याप्त नातावाद र कृपावाद पनि पनि हो ।

‘अहिले पनि हाम्रो समुदायमा लोक सेवा पास गर्नको लागि पैसा र पावर चाहिन्छ भन्ने छाप छ, यो सोचलाई हटाएर आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनतर्फ लाग्न सबैलाई अनुरोध गर्छु,’ उनले भने ‘मेहनत गरे सफलता आफ्नै हातमा छ ।

राम्रो शैक्षिक योग्यता छ भने जुन जाती समुदायको मानिसले पनि चाहेको सफलता हासिल गर्न सक्ने रहेछ भन्ने अनुभव आफूले बटुलेको उनले सगौरव बताए ।

जातिय छुवाछुतभन्दा पनि शिक्षा ठुलो कुरा रहेको हुँदा समाजमा जति नै धेरै विभेद भएपनि त्यसलाई सफलताले बिस्तारै मेटाउन सकिने उनको भनाइ छ ।

समुदायमा उनको परिवारले छोएको पानी पनि नखाने प्रचलन छ ।

नेपाल बैंकको अन्तर्वार्तामा नाम निस्किएपछि समाजमा ठुला जाती भनिएका एक जनाले आफ्नो घरभित्रै लगेर खाजा खुवाएर बधाइ दिएको भन्दै राम थप्छन्, ‘बाल्यकालमा सोच्थो ठूला जातीको घरभित्र भगवान नै बसेका हुन्छन जस्तो गर्थे । उनीहरुको घरपनि दलित कै जस्तो हुँदो रहेछ, उनीहरुको घर भित्रपनि हामी जस्तै मानिस बस्ने ठाँउ हुने रहेछ ।

जातीय भेदभावको नमिठो अनुभव सुनाए उनले ।

परिवारिक जिम्मेवारी र आर्थिक समस्याका कारण पढाई पुरा गर्न नपाएका रामले अब भने त्यसलाई निरन्तरता दिने सोच राखेका छन् । अधुरो पढाई पुरा गरी अधिकृतमा नाम निकाल्ने तयारीमा छन् उनी ।

पछिल्लो पुस्ताका लागि उनी र उनका साथी मिलेर दलित समुदाय कोष स्थापना गरेका छन् ।

‘त्यो कोषमा मैले नेपाल बैंकमा नाम निक्लिएपछि ५ हजार रुपैयाँ जम्मा गरिदिएको छु,’ उनले भने ।

नेपाल बैंकको सहायक चौथोमा नाम निकालेपछि उनी कार्यरत सामुदायिक संस्था जनचेतना दलित संगमबाट राजिनामा दिए ।

प्रदेश २ को दलित कोटाबाट नाम निस्केको हुनाले उनको कार्यस्थल पनि जनकपुर चुरोट कारखाना परिसरको नेपाल बैंक शाखामा परेको छ ।

मेहनले नै मानिसलाई सफल बनाउन सक्छ भन्ने उदाहरण पेश गरेका रामबाट शिक्षा लिएर तराईका हजारौं रामहरुले मेहनत गर्नुपर्ने देखिन्छ । किनकी, अधिकार मागेर होइन, आफै सक्षम भए मात्रै पाइन्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स