कोरोना बीमाः अर्थमन्त्रीकोे निर्देशनपछि ३ दिनमा ६ करोड भुक्तानी, अझै १ अर्ब ३८ करोड बक्यौता
काठमाडौं । कोरोना बीमा दावी भुक्तानी कम्पनीहरुले धमाधम भुक्तानी गर्न थालेका छन् ।
लामो समयसम्म अत्यधिक बक्यौता राखेका दावी भुक्तानी सरकारले एक साताभित्र तिर्न निर्देशनको ३ दिनमै ५ करोड ९४ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको हो ।
निर्जीवन बीमा कम्पनीहरुले गत बैशाखदेखि बिक्री गर्दै आएको कोरोना बीमालेखमा बीमितले गरेको दावी भुक्तानी नभएको चौतर्फी गुनासो बढेको थियो ।
जसकारण कात्तिक १८ गते अर्थमन्त्री बिष्णु पौडेलले बीमा समितिका प्रतिनिधिलाई मन्त्रालय बोलाएर एक साताभित्रै प्रक्रिया पूरा गरेर बक्यौता दावी भुक्तानी गर्न निर्देशन दिएका थिए ।
त्यसपछि सोही दिन समितिले बीमा कम्पनीहरुलाई बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम दावी गरेका सबै बीमितलाई एक हप्ताभित्रै भुक्तानी गर्न निर्देशन जारी गरेको छ ।
गत सातासम्म बीमा कम्पनीहरुले १ अर्ब २० करोड ३६ लाख रुपैयाँ दावी बक्यौता रहेको बीमा समितिद्वारा प्राप्त तथ्यांकले देखाउँछ ।
साता दिनभित्रै बक्यौता दावी भुक्तानी गर्न निर्देशन पाएको भोलिपल्टसम्म कम्पनीहरुले १६ करोड २३ लाख रुपैयाँ दावी भुक्तानी गरेको नेपाल बीमक संघका प्रवक्ता चंकी क्षेत्रीले बताएका थिए ।
समितिद्वारा प्राप्त तथ्यांक अनुसार काक्तिक २१ गतेसम्म कम्पनीहरुले २२ करोड १८ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् । संघका प्रवक्ता क्षेत्रीको भनाइलाई आधार मान्दा कम्पनीहरुले ३ दिनमै ५ करोड ९४ लाख रुपैयाँ बढी कोरोना दावी भुक्तानी गरेका हुन् ।
त्यस अघिसम्म बीमा कम्पनीहरुले दावी भुक्तानी सरकारी ल्यावबाट आएका रिपोर्टका आधारमा मात्र गरिरहेका थिए । अर्थमन्त्री पौडेलको निर्देशनपछि कम्पनीहरुले निजी ल्याबबाट आएका रिपोर्टका दावी पनि भुक्तान गरेका हुन् ।
अर्थमन्त्रीको निर्देशन पाएको भोलिपल्टै बिमक संघले समितिलाई र समितिले स्वास्थ्य मन्त्रालयले निजी ल्यावबाट आएको रिपोर्टलाई प्रमाणिकरण गर्ने प्रक्रिया तीव्र पारेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका थिए ।
यसैगरी हालसम्मको तथ्यांकअनुसार कम्पनीहरुले १ करोड ५६ हजार ५ सय ८७ जना बीमितको कोरोना बीमा गरी ९८ करोड ३३ लाख बढी प्रिमियम संकलन गरेका छन् ।
जसमा हालसम्म १६ हजार ६ सय ३५ जनाले बीमितले १ अर्ब ६० करोड २१ लाख रुपैयाँ दावी गरेका छन् । तर कम्पनीहरुले भने हालसम्म २ हजार ३ सय २० जना बीमितलाई २२ करोड १८ लाख रुपैयाँ दावी भुक्तानी गरेका छन् भने १४ हजार ३ सय १५ जना बीमितले १ अर्ब ८० करोड ३० लाख रुपैयाँ बढी दावी भुक्तान पाउन बाँकी नै छ ।
एक साताभित्रै कम्पनीहरुमा १७ करोड ६७ लाख रुपैयाँ बराबरको दावी परेको देखिन्छ ।