म्याद नाघेका खाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कैदसहित जरिवाना



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेका खाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कैदसहित जरिवानाको निर्णय गरेको छ ।

विभागले म्याद नाघेका खाद्य वस्तुमा लगाइएको लेबल परिवर्तन गरी उच्च गुणस्तरका वस्तु भनी झुक्याई कमसल वस्तु बिक्री वितरण गरी उपभोक्ता हित विपरितको कसुर गरेकोमा व्यवसायीलाई कैदसहित जरिवानाको निर्णय गरेको हो ।

वाणिज्य विभागका निरीक्षण अधिकृत धु्रव खनालको प्रतिवेदका अनुसार भारत राजस्थान विकानियर जिल्ला घर भई हाल काठमाडौं बस्ने रोनक बोथरा र धादिङ जिल्ला गल्छी गाउपालिका ३ घर भई हाल काठमाडौं कुलेश्वर बस्ने शंकर बयलकोटीलाई प्रतिव्यक्ति एकवर्ष कैद र ३ लाख जरिवाना तोकेको छ ।

त्यसैगरी, पुष्पादेवी अग्रवाल, मुन्ना ठाकुर, पप्पु कुमार ठाकुर, स्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र बिक्रमप्रसाद गुप्तालाई प्रतिव्यक्ति ३ लाख १२ हजार रुपैयाँ जरिवाना गरी जम्मा १८ लाख ७२ हजार जरिवाना गर्ने निर्णय भएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त गोदाममा रहेको रिलेवलिङमा प्रयोग भएका सामान तथा उपभोग्य म्याद समाप्त भएका २ करोड ९४ लाखका खाद्य वस्तुहरू स्थानीय प्रहरी र जनप्रतिनिधिको रोवहरमा नष्ट गर्ने जनाएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंका निरीक्षण अधिकृत जविनप्रसाद दुलालको प्रतिवेदनका अनुसार उपभोक्ता अधिकार संरक्षण ऐनको उल्लङ्घन गर्ने ३ जना व्यवसायीलाई जरिवाना गरेको छ । विभागले जितेन्द्र कुमार लोहियालाई ३ लाख, मुकेस रौनियार र अनित भन्ने आशिष मगरलाई प्रतिव्यक्ति एक लाख ५० हजार जरिवाना गरी जम्मा ६ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको जनाएको छ ।

साथै, गोदाममा रहेका ४४ लाख ३१ हजार ९ सय ९५ मूल्य बराबरको उपभोग्य म्याद समाप्त भएका वस्तुहरु स्थानीय प्रहरी र जनप्रतिनिधिका रोवहरमा नष्ट गरिएको विभागले जनाएको छ ।

उक्त निर्णयमा चित्त नबुझ्ने पक्षले उपभोक्ता संरक्षण ऐनको दफा ४० को उपदफा २ बमोजिम ३५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा पुनरावेदन गर्न विभागले आग्रह गरेको छ ।


क्लिकमान्डु