उखु किसानले उद्योगमन्त्री लेखराज भट्टलाई भेटेर भने- बक्यौता रकम छिटो पाउँ



काठमाडौं । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौंदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रले मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाईदिन आग्रह गरे ।

मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायजथा बिक्री गरेर भएपनि २०७६ माघ ७ गतेभित्र किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो ।

तर सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरुले गरेका छन् ।

संरक्षक मिश्रले सरकारले नै सम्झौता अनुसार काम नगरी किसानहरुलाई नियोजित पीडा दिइरहेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने आफूले किसान प्रतिको कर्तव्य नभुलेको बताए ।

अहिले पनि चिनी उद्योगी संघलाई उपस्थित गराई निकास दिन छलफल चलाउने बताए । किसानले पनि भुक्तानी पाउने र उद्योग पनि बच्ने गरी समस्याको समाधान हुने पनि उनले बताए ।

किसानले आफ्नो बक्यौता पाउन पर्खिनुपर्छ भन्ने नभइ उद्योगबाट असुुलउपर गराउन प्रक्रियामा जाँदा ढिलो भइरहेको पनि बताए ।

यद्यपि कतिपय चिनिमिलले किसानको बैंक खाता नहुँदा भुक्तानी दिन रोकिएको बताएको पनि उनले बताए ।

लुम्बिनी सुगर मिल्स सुनवल र श्रीराम सुगर मिल्स बाहेकका चिनी मिलले दिनुपर्ने बक्यौता रकमको समस्या लगभग समाधान हुने चरणमा रहेको पनि मन्त्री भट्टले जानकारी दिए ।

लुम्बिनी चिनी मिल सुनवलका मालिकको मृत्यु भइसकेको र परिवार सम्पर्कमा नरहेकाले गृह मन्त्रालयलाई उपस्थित गराउन पत्राचार गरिएको बताए ।

त्यस्तै श्रीराम सुगर मिल्सले खारेजीमा गई त्यसबाट असुलउपर हुने रकमबाट किसानलाई भुक्तानी गर्ने मौखिक जानकारी गरकाएको बताए ।

समग्रमा सबै चिनी मिललाई बचाउने र किसानले पनि समयमै भुक्तानी पाउने गरी कसरी समस्याको समाधान गर्न सकिन्छ भन्ने तर्फ मन्त्रालयले काम गरिरहेको पनि मन्त्री भट्टले स्पष्ट पारेका छन् ।


क्लिकमान्डु