बैठक बोलाउन केपी ओलीलाई सामूहिक आग्रह गर्ने नेकपा सचिवालयको निर्णय



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितको अनौपचारिक बैठकले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई सहमतिमै बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको हो ।

कार्यकारी अध्यक्ष दाहाल नै औपचारिक बैठक बोलाउन सक्ने भएपनि संकटपूर्ण परिस्थितिमा रहेको पार्टी एकतालाई जोगाएर सहमतिका आधारमा अगाडी बढ्न ओलीलाई सामूहि आग्रह गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
दाहालसहित सचिवालयका पाँच जना सदस्यले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर बैठक बोलाउन आग्रह गर्ने उनले जानकारी दिए ।

पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने र अहिलेसम्मको कामहरुको समिक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकतावद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्न छिटो बैठक बोलाउन अनुरोध गरिने उनले बताए ।

‘आजको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको आधारमा बैठक छिटोभन्दा छिटो बस्ने अनुरोध गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

यसका लागि सामूहिक रुपमा नै अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीमा अहिलेको विद्यमान संकटलाई समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउन सहमतिको आधारमा बैठक गर्ने, अहिले सम्मको कामहरुको समिक्षा गर्ने पार्टीको निर्णयको कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नाका निम्ति आवश्यक कदमहरु अगाडि चाल्नका लागि छिटोभन्दा छिटो बैठक गर्न अनुरोध गरेको उनले बताए ।

बैठकमा ओली सहित अन्य सदस्यहरु सहभागि नभएको विषयमा भने उनले अनौपचारिक बैठकका लागि जानकारी गराएको भएपनि कार्यव्यस्तताका कारण सहभागी नभएको बताए ।

पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएको छ । आजको बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता श्रेष्ठ सहभागी थिए ।

त्यस्तै प्रधानमन्त्री ओली, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल भने बैठक गएनन् ।


पुष्प दुलाल