एनआरएनएद्धारा सवा करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यमन्त्री रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरेका छन् । कोभिड-१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु¥याएको भन्दै मन्त्री रावतले एनआरएनएलाई सरकारले जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउँदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गरे ।
हस्तान्तरण कार्यक्रममा एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको बताए ।
विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उनले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन जापानवासी नेपालीले सहयोग गरेको बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेको उल्लेख गरे । थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिए। यसअघि थापाकै पहलमा संघले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री सरकारलाई हस्तान्तरण गरेको छ ।
संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पिडित नेपालीहरुलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिड बिरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ ।