प्रचण्डले आजै बोलाए नेकपाको सचिवालय बैठक, ओली पक्ष नजाने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन नमान्दा नमान्दै प्रचण्डले एकलौटीरुपमा शुक्रबार दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाएका हुन् ।

पछिल्लो समय नेकपाभित्र दुई अध्यक्षबीच घमसान युद्ध चलिरहेको छ । प्रचण्ड पक्षधर सचिवालय बैठक बोलाएर सरकार र अर्का अध्यक्ष ओलीको कार्यशैली पार्टीको निर्देशन अनुसार गराउन चाहन्छ भने ओली पक्षधर सचिवालय बैठकको फेस गर्न तयार छैन ।

ओली पक्षधरले आफूमाथि घेराबन्दी गरेर षड्यन्त्रपूर्वक सचिवालयको बैठक माग गरिएको भन्दै त्यसलाई अस्वीकार गर्र्दै आएको छ ।

लामो समयसम्म सचिवालयको बैठक बस्न माग भएपनि ओलीले नमानेका कारण बैठक बोलाइएको थिएन । दुई अध्यक्षबीचको विवाद चुलिएपछि नेकपा फुटको संघारमा पुगेको छ ।

प्रचण्ड पक्षमा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम छन् भने ओली पक्षमा इश्वर पोखरेल, विष्णु पौडेल मात्रै छन् । रामबहादुर थापा बादल तटस्थ देखिएका छन् ।

बैठक पार्टी कार्यालय धुम्बाराही दिउँसो ३ बजे बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। ओली निकट स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षका सदस्यहरू उपस्थित नहुने बताइएको छ ।

प्रचण्डसँग्को पछिल्ला भेटहरुमा ओलीले बैठकको काम कुनै औचित्य नभएको, अरूले बोलाएको बैठकमा उपस्थित नहुने र कुनै निर्णय गरे आफूले त्यसको सामाना गर्दै ठूलो एक्सन लिने चेतावनी दिएका छन्।


पुष्प दुलाल