यो तिहारमा भाइमसला सस्तो हुने, कुनको मूल्य कति ? (सूचिसहित)



काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंमा खसी बोकाको व्यापार चम्किएजस्तै तिहारको माहोल नजिकिँदै गर्दा बजारमा भाई मसलाको व्यापार चम्किने गर्दछ । त्यस्तै कोरोना महामारीले करिब ८ महिना थलिएको व्यापार तिहारमा केही मात्राले बढ्ने आशाका साथ बजारमा तयारी गरिरहेको व्यापारीहरुले बताएका छन् ।

तिहारको माहोलमा धेरैभन्दा धेरै भाइमसलाको आवश्यक हुने भएकाले वर्षभरीको आधाभन्दा बढी हिस्सा यही तिहारमै बिक्री हुने गरेको किराना व्यवसायी तथा खुद्रा व्यापार संघले जनाएको छ । लामो समयको बन्दाबन्दीका कारण बिक्रीमा गिरावट आएको मसलाको व्यापार तिहारमा बढ्ने व्यापारीहरूले अनुमान लगाएका छन् ।

हाल भाइमसला होलसेल व्यापारीहरूले तिहारमा आवश्यक भाइ मसला बिक्री गर्नको लागि प्याकिङ गर्न शुरु गर्न थालिसकेका छन् । प्याकिङ गरेको भाइमसला अब केही दिनमै बजारमा पुग्ने भाइमसला होलसेल व्यापारीहरूले बताएका छन् ।

विगतको दिनमा होलसेलबाट ल्याएर आफै घरमा प्याकिङ गथ्र्यो भने अहिले बजारमा धेरैजसो रेडिमेड पाउने गर्दछ । यसको लागि कुलेश्वर र कालीमाटीको व्यापारीले नै भाइमसला प्याकेट बनाउने गरेको व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार तिहारमा भाइमसलाको २० रुपैयाँदेखि एक हजारसम्म मूल्यको भाइमसला बढी तयार गर्न कामदार खटाएर प्याकिङ गर्ने गरेको बताए । यसले गर्दा खुद्रा बजार व्यापारीलाई सहज भएको उनी बताउँछन् । विगतको दिनमा खुद्रा व्यापारीहरुले आफैले ल्याएर प्याकिङ गरेर बेच्दा बिक्री नभएको खण्डमा व्यापारीको खर्च बढी हुने र घाटा व्यहोर्नुपर्ने उनको अनुभव छ ।

तर, अहिले तिहारको माहोलको लागि विशेष प्याकेजिङ गर्ने भएकाले होलसेल व्यापारीहरूले खुद्रा व्यापारीलाई तिहार समयवधिमा बिक्री भए हुन्छ नत्र बिक्री नभएको आफै फिर्ता लिने गरेको उनको भनाइ छ ।

‘किराना पसल तथा खुद्रा बजारमा भाइमसला तिहार बाहेक अन्य समयमा बिक्री कम हुन्छ,’ उनले क्लिकमान्डूसँग भने, ‘तिहारमा प्याकिङ गरेको मसला बिग्रिने सम्भावना भएकाले व्यवसायीहरूले तिहारको समयअवधिमा बिक्री नभएको भाइमसला फिर्ता लिने गर्दछ ।’

मूल्यमा गिरावट

कोरोना महामारीले गर्दा ८ महिना बन्दाबन्दी भएको अवस्थामा पनि किराना पसलका सामानसँगै ड्राई फ्रुट खपत तथा बिक्री भएको छैन ।

यसका साथै, गत वर्षको जस्तो तिहारमा उत्साह नभएकाले यो वर्षको तिहारको भाइमसलाको माग र मूल्यमा गिरावट आएको छ । जसले गर्दा गत वर्षको तुलनामा यो तिहारमा करिब ५० देखि एक सय रुपैयाँले भाइमसलाहरूको मूल्य घटेको व्यापारका अध्यक्ष श्रेष्ठ बताउँछन् । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष भाइमसलाको मुल्यमा कमी आएकाले ग्राहकलाई केही रुपले सहज उनले दाबी गरे ।

मूल्य घट्नुको कारण यस्तो छ

कोरोना महामारीले गर्दा विगतको दिनमा बिक्री नभएको भाइमसला बजारमा पर्याप्त भएकाले पछिल्लो समय न्यून रुपमा आयात भएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार अझै पनि लकडाउन हुने हो वा नहुने भन्ने अन्यौलताले गर्दा व्यापारीहरूले यही समयमा बेच्नुपर्छ भनेर केही मात्रामा नाफा राखेर बेचिरहेकोले बजारमा भाइमसला सस्तो हुकन पुगेको बताए ।

करिब ५० प्रतिशत यही तिहारको माहोलमा बिक्री हुने भएकाले आफ्नो व्यवसायलाई चलायमान बनाउनकै लागि भएका पनि व्यापारीले मुल्य घटाएर बेच्नुपरेको बाध्यता उनले सुनाए । ‘अन्य समयमा फाट्टफुट्ट मात्रै बिक्री हुन्छ । तर, यो वर्ष कोरोनाले गर्दा मौज्दातमा रहेको ड्राई फ्रुट्स बेच्न पाएका छैनन् । त्यसैले सबै व्यापारीले मूल्य घटाएर भएपनि व्यापार गर्नुपर्छ भन्ने तिर लागेको छ,’ उनले भने ।

त्यसैगरी, बजारमा व्यापारीहरूको प्रतिस्पर्धा रहेको तर मानिसको भीड कम भएकाले सामानको मूल्य बढ्न नसकेको उनको बुझाइ छ ।

कहाँबाट आयात हुन्छ ?

तिहारको लागि चाहिने मसला नेपालमा केही प्रकारका मात्रै उत्पादन हुने गर्दछ । तर, उक्त उत्पादन भएको ड्राइ फ्रुट्ले नेपाली बजारमा धान्न सक्दैन । त्यसैले अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुने गर्दछ । त्यस्तै, मखना र ओखर बढीजसो चीनबाट आयात हुने गरेको छ । आलमण्ड (हाडे बदाम) भारत, अमेरिका र अस्ट्रेलियालगायतका देशबाट आयात गर्दछ ।

त्यसैगरी, अन्य देशहरू भियतनाम, कतार, थाइल्यान्ड, अमेरिकालगायत अन्य मुलुकबाट विभिन्न प्रकारका ड्राई फ्रुट्स अर्थात भाइमसला आयात हुने गर्दछ । तर, आयात भई तिहारको समयवधिमा बिक्री हुने भाइमसलाको भने हालसम्म संघसँग यकिन तथ्याङ्क नभएको संघले जनाएको छ ।


पुष्प दुलाल