देशमा लगानी आउँदैन कि भन्ने डरले चिनी मिललाई कारबाही गरिएनः मन्त्री लेखराज भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिदैन कि भन्ने डरले चिनी मिललाई कारबाही नगरेको बताएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी नदिएको सम्बन्धमा छलफल गर्न उपस्थित भएका मन्त्री भट्टले कोभिडको समयमा उद्योगीहरुलाई कारबाही गरी हतोत्साही पार्न नसकिएको बताए ।

चिनी उद्योगलाई बचाउने वा रुग्ण घोसित गरी असुल उपर गर्ने दुई विकल्प मात्रै भएपनि किसान तथा श्रमिकलाई भुक्तानी नदिने उद्योगीहरुलाई अहिलेको अवस्थामा हतोत्साही गर्ने गरी कारबाही गर्न नहुने उनले स्पष्ट पारे ।

‘श्रीरामको सन्दर्भमा उसले के भन्यो भने मैले अन्यबाट सकिन्न यो १० बिगाहा जमिन बिक्री गर्न पाए मन्त्रालयले दिएका ४ वटा सर्तहरु पालना गर्छु,’ मन्त्री भट्टले भने, ‘उसले भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गर्दिनु पर्यो भनेर उसले निवेदन दिएपछि हामीले सिफरिस गरिदिएको हो ।’

मन्त्री भट्टले उनको अन्यत्र जायजेथा छ भने त्यहाँबाट असुलउपर गर्ने, थुनुवा गर्ने काम भएको समेत बताए ।

उनले अहिले लगानी भित्र्याउन खोजिराखेको बताउँदै कोभिडको समयमा उद्योगी व्यवसायीलाई भित्रै हाल्दा अन्य जायजेथाबाट असुलउपर गरेपछि लगानी आउँछ की आउँदैन, देश औद्योगिकरण तिर जान्छ की जाँदैन भन्ने अलि हामीलाई द्विविधा भएको बताए ।

मन्त्रालयले चिनी उद्योगहरुलाई बचाउने गरी बस्तुवादी वैज्ञानिक निकास दिन निरन्तर छलफल गरिरहेको पनि मन्त्री भट्टको भनाइ छ ।

कोभिड महामारीको समयमा त्यसैपनि उद्योगी व्यवसायीहरु मारमा परेको अवस्थामा कुनैपनि उद्योगलाई कारबाही गर्दा नराम्रो सन्देश जाने भएकाले तत्काल कारबाही गर्न उचित नहुने उनको भनाइ छ ।

तर चिनि मिलहरुले उखु किसानलाई भुक्तानी दिन नसकेको समस्यालाई मन्त्रालयले गम्भीररुपमा लिई समाधानका लागि उद्योगीहरुसँग निरन्तर छलफल गरिराखेको पनि उनले दावी गरे ।


क्लिकमान्डु