तातोपानी र केरुङ्ग नाका पूर्ण नखुल्दा व्यापारी टाट पल्टिने अवस्थामा



काठमाडौं । कोरोना भाइरसको कारण देखाउँदै तातोपानी र केरुङ्ग नाका पूर्ण रुपमा नखुल्दा व्यापारीहरु टाट पल्टिने र मानसिक रुपमा विचल्लित हुन थालेका छन् ।

नाका सुचारु नभएमा कारण व्यापारी व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भई आन्दोलित हुने अवस्था रहेको नेपाल-चीन चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिले बताएको छ ।

इन्ड्रस्टिले माल सामानहरु समयमा नेपाल ल्याई विक्री वितरण गर्न नसकेमा व्यवसाय नै धरासाय भई पलायन हुनु पर्ने अवस्था आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

व्यापारीहरुले जाडो, गर्मीयाम तथा चाडपर्व लक्षित गरी आयात गरिएका विविध सामानहरु ८-१० महिनादेखि नाकामा अलपत्र परेको छ । कतिपय खाद्य सामग्री तथा फलफुलहरु बिग्रिएको र म्याद सकिने अवस्थामा पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।

लामो समयदेखि हजारौ ट्रक मालसामानहरु नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरुले दुई देशबीच सडक मार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पनी गर्न थालेको समेत उल्लेख छ ।

दसैँ अगाडि नै नाका पूर्ण रुपमा सुचारु हुने भनिएता पनि चीनीयाँ पक्षले तातोपानी नाकाबाट दैनिक २-४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमती दिने गरको छ । भन्सार लगायत सम्बन्धित निकायबाट नाका संचालनका लागि प्रयास गरिएतापनि चीनीयाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना नआउने गरेको उल्लेख छ ।

अहिलेको अन्यौलको अवस्थालाई निरन्तरता दिनु दुई देशको हितमा कदापी नहुने र मुलुकको राजस्व संकलनमा समेत कमी आउने भएकोले यो समस्याको समाधानका लागि विशेष पहल गरी धेरै भन्दा धेरै गाडीहरु नेपाल ल्याउने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको छ ।


क्लिकमान्डु