आन्तरिक पर्यटकले भरियो रसुवा, होटल व्यवसायी उत्साहित



काठमाडौं । कोभिड १९ का कारण करिब ७ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ ।

लामो समयदेखि सुनसान रहेको रसुवामा अहिले आन्तरिक पर्यटकको चहलपहल बाक्लो रुपमा देखिन थालेको हो ।

चैत ११ देखिको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य रहेको रसुवामा दशैंपछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या बृद्धिले होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।

कोरोना महामारीका कारण करिब ७ महिनादेखि ठप्प रहेको होटल तथा पर्यटन व्यवसायलाई केही दिनदेखि घुम्न र बास बस्न आउने आन्तरिक पर्यटकको संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए ।

अध्यक्ष गजुरेलले लामो समय देखि व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा उत्पन्न भएको थियो अहिले विस्तारै पर्यटकको आगमन बढ्ँदा व्यवसायी उत्साहित भएको बताउँछन् ।

अहिले दैनिक ६० देखि ८० जनासम्म आन्तरिक पर्यटक र ३ देखि ४ जना बाह्य देशका पर्यटकहरु होटलमा बास बस्न आउने गरेको बताउँदै अध्यक्ष गजुरेलले यो संख्या बढ्दै जाने विश्वास व्यक्त गरे ।

धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग, रसुवागढी, नागथली लगायतका क्षेत्र हेर्न पर्यटक रसुवामा जाने गर्दछन् ।


क्लिकमान्डु