नेपाल एयरलाइन्सले नयाँ सिस्टम ल्याउने, मोबाइल एप र अनलाइन टिकटिङ पनि शुरू हुने



काठमाडौं । नेपाल एयरलाइन्सले पुरानो सिस्टम हटाएर नयाँ सिस्टम ल्याउने तयारी गरेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी ६ महिनाभित्रमा नयाँ सिस्टम जडान भइसक्नेछ ।

‘नेपाल एयरलाइन्सले अहिले प्रयोग भइरहेको सिस्टम ३० वर्ष पुृरानो हो, यो सिस्टम २० वर्षसम्मको अग्रीम भुक्तानी दिएर खरिद गरिएकाले क्रमशः विस्तापित गर्ने तयारीमा छौं, आगामी ६ महिनाभित्रमा नयाँ सफ्टवेयर जडान भइसक्नेछ,’ उनले भने ।

उनका अनुसार निगमले अहिले प्रयोग गरिरहेको सिस्टमबाट अनलाइन टिकटिङ सम्भव छैन । तर नयाँ सिस्टमबाट भने अनलाइन टिकटिङ, मोबाइल एप, इपेमेन्ट र इकर्मको काम पनि गर्न सकिन्छ ।

‘धेरै साथीहरु तथा सेवाग्राहीहरुले जिज्ञाशा राख्नुहुन्छ, ‘नेपाल वायुृसेवा निगमले किन अनलाइन टिकटिङ शुरु गर्दैन ? नेपाल एयरलाइन्सले अहिले प्रयोग गरिरहेको प्रविधि करिब २० वर्ष पुरानो हो, जुन सिस्टमबाट अनलाइन टिकटिङ पूर्णरुपमा सम्पादन गर्न सकिँदैन । यो सिस्टम २० वर्षको अग्रीम भुक्तानी दिएर खरिद गरिएको रहेछ,’ उनले भने ।

यो सिस्टम परिवर्तन गर्दा नेपाल एयरलाइन्सलाई ठूलो रकम नोक्सान पर्न जाने भएकाले यसलाई क्रमशः विस्थापन गरेर ६ महिनामा पूर्णरुपमा नयाँ सफ्टवेयर राख्ने योजना बनाएको उनले बताए । उनले निगमनलाई अत्याधुनिक बनाएर सेवा प्रभावकारी बनाउनेमा पनि जोड दिए ।


क्लिकमान्डु