ललितपुरको सुनाकोठीमा समयमा बाटो कालोपत्रे नभएपछि स्थानीयले गरे विरोध प्रदर्शन
ललितपुर । ललितपुर महानगरपालिकाको वडा नम्बर– २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलनरत रहेका छन् । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रीम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ ।
त्यहाँका स्थानीय एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।
सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्थासम्म पुग्दापनि काम नभएको उल्लेख गर्दै उनले देश कहाँ छ ? भन्दै प्रश्न गरे ।
‘लोकतन्त्रका लागि ज्यान हत्केलामा राखेर लड्यौँ । तर हामीले चाहेको लोकतन्त्र वा थिएन् । हामीले चाहेको एउटा र अहिलेको लोकतन्त्र फरक छ । सरकार नै कसको हातमा छ भन्ने थाहा छैन,’ उनले भने ।
स्थानीयहरुले पनि सडक कालोपत्रे नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । विकास निर्माणको काम अवरोध गर्नेलाई राजनीतिक संरक्षण गर्दा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ ।
अबिर लगाएर प्रतिनिधि बनाएकाहरुलाई जनताका समस्या नबुझे धुलो लगाउन पनि पछि नपर्ने स्थानीयहरुको भनाइ छ ।
अहिले ८ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भइसकेको छ । सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीयले पटक पटक अनुरोध गर्दै पटक पटक विरोध प्रदर्शन गर्दा पनि काम हुन सकेको छैन् ।