निर्वाचन अगाडि उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाद्धारा राजीनामा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

खतिवडाले कार्यकाल बाँकी रहदै महासंघबाट गत आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा महासंघ अध्यक्ष भवानी राणाले स्वीकृत समेत गरेकी छन् ।
तत्कालको लागि निमित्त महानिर्देशकको जिम्मेवारी मिना श्रेष्ठलाई दिइएको छ ।

खतिवडा नेपाल सरकारको सचिवबाट अवकास प्राप्त हुन् । उनले दुई पटक महासंघमा महानिर्देशकको जिम्मेवारी प्राप्त गरेका थिए ।

‘नयाँ नेतृत्व चयन हुन थालेको हुँदा नयाँ ढंगले काम गर्नको लागि सहज बाटो बनाउन राजीनामा दिएको हो,’खतिवडाले क्लिकमाण्डूसँग भने ।

उनले सहज रुपमा नै राजीनामा दिएको बताएपनि महासंघ सम्बन्ध स्रोतले भने अध्यक्षसँग केही विषयमा असहमति पछि राजीनामा दिएको बताएको छ ।

‘तीन दशकभन्दा बढी समय सक्रिय जीवन बिताएको हुँदा अब रिटायर हुन खोजेको हो,महासंघ व्यक्तिगत भन्दापनि संस्थागत ढंगले अगाडि बढोस् भन्ने कामना छ,’खतिवडाले भने ।

महासंघमा नयाँ नेतृत्वका लागि मसिंरको दोस्रो साता निर्वाचन हुँदै छ । विधान अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष बन्ने छन् ।
बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल बनाएर प्रतिस्पर्धा गर्न थालेका छन् ।

२०७६ साल असोज १ गते महासंघ अध्यक्ष राणाले खतिवडालाई महानिर्देशकमा नियुक्त गरेकी थिइन् ।


क्लिकमान्डु