देशको हितका लागि राजीनामा दिन्न: प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।

बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री आफूले अहिले देश हितका लागि राजीनामा नदिने स्प्ष्ट पारेका छन् ।

‘अहिले देशको हितका लागि राजीनामा दिने अवस्था छैन, मैले राजीनामा दिनेवाला छैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले तत्काल सरकार तलमाथि हुन्छ भनेर नसोची आनन्दले काम गर्न समेत निर्देशन दिए ।

‘के अहिले मैले राजीनामा दिन हुन्छ, मिल्छ ? देशको हितमा हुँदैन, मैले राजीनामा दिनु भनेको देश बबार्दी तिर जानु हो,’ उनले भने ।

‘म यस ठाउँमा आएको रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्याएको जालझेल र तिकडमले होइन, जनताको व्यापक समर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काम गर्नुहोस्,’ उनले भने ।

सरकारले नफेरिने बरु स्थिर भएर समृद्धिको काममा लाग्ने समेत प्रधानमन्त्री ओलीले बताए ।

‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भनेर धेरैले धेरै प्रकारको कुरा गरे । जेमा पनि आलोचना गरे । त्यसप्रकारका प्रवृतिहरु छन् । त्यसबाट प्रभावित हुन हुँदैन । एकथरीको प्रयास देशलाई अस्थिरतातर्फ धकेल्ने आदत छ । देश स्थिरतामा छ । स्थिरता नै जनताको जीवनमा परिर्वतन ल्याउन सकिन्छ । गरिबीसँगको लडाँइ पनि जितेर पनि हामी अगाडि बढ्छौ । विकृति विसंगतीलाई पनि पराजित गरेर हामी अगाडि बढ्छौं,’ उनले भने ।

पछिल्लो समय नेकपाभित्र विवाद उत्पन्न हुँदै जाँदा पार्टी फुट्न सक्ने सम्भावना बढेको थियो । तर त्यसयता भने पार्टी फुट्न नदिनका लागि नेकपाका नेताहरुको सक्रियता बढेको छ ।

प्रधानमन्त्री ओली आफैले प्रचण्डसँग मिलेर बस्न नसक्ने भए सल्लाह गरेरै अलग्गनु भनेसँगै नेकपा विवादले चर्को रुप लिएको थियो ।


क्लिकमान्डु